रवि लामिछानेद्धारा नवनिर्वाचित सांसदहरुलाई व्यक्त विचार निकै सकारात्मक छन् : बाबुराम भट्टराई


काठमाडौं, ४ चैत्र । प्रगतिशील लोकतान्त्रिक पार्टीका प्रमुख संरक्षक तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले रास्वपाका सभापति रवि लामिछानेको अभिव्यक्तिलाई लिएर सकारात्मक भनेका छन् । रविले आज रास्वपाका नवनिर्वाचित सांसदहरुलाई दिएको अभिमुखीकरणमा व्यक्त विचार सकारात्मक भनेर बाबुरामले प्रशंसा गरेका छन् । उनले रास्वपाले पाएको यो अभिमत कुनै एक पार्टी वा व्यक्तिलाई प्राप्त मतभन्दा समग्र नेपाली राजनीतिक पुनर्संरचना र पुस्तान्तरणको सन्देश भएको दाबी गरेका छन् ।

उनले लेखेका छन्-
हालैको आमनिर्वाचनमा अत्यधिक जनमत प्राप्त गरेको रास्वपालाई सवैले आशा, ईर्ष्या र सतर्कतापूर्वक हेर्नु स्वाभाविक छ।यस सन्दर्भमा पार्टी सभापति रवि लामिछानेद्वारा नवनिर्वाचित सांसदहरूलाई अभिमुखीकरण गर्ने क्रममा व्यक्त विचार निकै सकारात्मक छन्।
पहिलो, फलेको हाँगो निहुरिन्छ र निहुरिनुपर्छ भन्ने हाम्रो लोकोक्ति राम्रोसंग झल्केको छ। त्यो कायम रहोस्।
दोश्रो, रास्वपाले पाएको यो प्रचण्ड अभिमत कुनै एउटा पार्टी वा व्यक्तिलाई प्राप्त मत भन्दा समग्र नेपाली राजनीतिको पुनर्संरचना र पुस्तान्तरणको सन्देश हो भन्ने सोंच वस्तुपरक छ । त्यसनिम्ति पुराना दल र नेताप्रति प्रतिक्रियात्मक बन्नु भन्दा उनीहरूले ऐतिहासिक रूपमा निर्वाह गरेको भूमिकाको सम्मान गर्दै र प्राप्त उपलब्धीको रक्षा गर्दै देशको नयाँ भविष्य निर्माण गर्नुपर्छ भन्ने कुरा ज्यादै अर्थपूर्ण छ।
हार्दिक शुभकामना१