४ मंसिर, काठमाडौं । राजनीतिमा कहिलेकाहीँ सार्वजनिक मञ्चमा व्यक्त गरिएका भाषणभन्दा अनौपचारिक संवादले धेरै कुरा उजागर गरिदिन्छन्। नेताहरूले जनतासामु प्रस्तुत गर्ने राजनीतिक आदर्श र बन्द कोठाभित्र हुने छलफलबीचको अन्तर कस्तो हुन्छ भन्ने झलक पनि यस्तै संवादबाट देखिन्छ।
यस्तै चीन भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूको एउटा भिडियो अहिले सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ। चीनको प्रविधि प्रदर्शनीमा रोबोटको प्रदर्शन हेरिरहेका सांसदहरूबीच भएको अनौपचारिक कुराकानी भिडियोमा कैद भयाे । कैद मात्रै भएन, फेसबुकमै आयाे ।
जनआस्थाका सम्पादक किशोर श्रेष्ठले आफ्नो फेसबुकमार्फत सार्वजनिक गरेको भिडियोमा रास्वपा सांसद श्रीराम न्यौपानेले ‘शेरबहादुर देउवाको हातमा कांग्रेस जानुपर्छ अझै’ भनेको सुनिन्छ।
त्यसमा प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिकी सभापति समीक्षा बाँस्कोटा थप्छिन्, ‘अदालतले पनि फैसला गरेर शेरबहादुर देउवाकोमा मान्यता जानुपर्छ स्थानीय चुनावसम्म। र, ओलीलाई पनि रोक्नुहुन्न। किनभने डबल चर्को भएर निस्कनुपर्छ ओली र महेश बस्नेत।’
संवादका क्रममा अर्का सांसदको आवाज सुनिन्छ, ‘रोकिँदैनन्, उनीहरूको स्वभाव नै त्यही हो।’
त्यसपछि न्यौपाने भन्छन्, ‘त्यसको फाइदा हामी लिन्छौँ तर त्यसको हामीले पनि काम गर्नुपर्छ। फेरि त्यतिले मात्र पुग्दैन।’
बाँस्कोटाले पनि थप्छिन्, ‘काम नगरे त हामीलाई पनि त्यही ठाउँमा पुर्याइदिन्छन्।’
भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया आइरहेका छन्।
यसैबीच, सांसद न्यौपानेले भने उक्त संवादको विषयमा आफ्नो स्पष्टीकरण दिएका छन्।
न्यौपानेको स्पष्टीकरण : जनताको मत स्थायी होइन, कामबाट प्रमाणित गर्नुपर्छ
भिडियो सार्वजनिक भएपछि सांसद श्रीराम न्यौपानेले सामाजिक सञ्जालमार्फत प्रस्टीकरण दिँदै अनौपचारिक छलफलको मूल निष्कर्ष जनताले दिएको मत र विश्वासको कदर गर्दै परिणाम दिनुपर्ने विषयमा केन्द्रित रहेको बताएका छन्।
उनका अनुसार शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको विगतको कार्यशैलीप्रति जनतामा देखिएको असन्तुष्टि र परिवर्तनको अपेक्षाकै कारण रास्वपाले ठूलो जनमत प्राप्त गरेको हो।
न्यौपानेले लेखेका छन्, ‘देउवा, ओली र प्रचण्डको विगतको कार्यशैलीप्रति जनतामा देखिएको असन्तुष्टि र परिवर्तनको अपेक्षाकै कारण राष्ट्रिय स्वतन्त्र पार्टीलाई एकपटकका लागि मत परिवर्तन गर्दै जनताले अत्यधिक मत दिएका हुन्। जनताले दिएको यो अभूतपूर्व अवसरलाई सदुपयोग गर्दै सुशासन, विकास र सेवा प्रवाहमा ठोस परिणाम दिन सक्नुपर्छ।’
उनले जनताको अपेक्षाअनुसार काम गरेर परिणाम घरदैलोसम्म पुर्याउन नसके आगामी निर्वाचनमा रास्वपाले पनि विगतका राजनीतिक दलहरूले जस्तै जनविश्वासको संकट बेहोर्नुपर्ने चेतावनी दिएका छन्।
अनौपचारिक संवादको मर्मबारे थप स्पष्ट पार्दै उनले भनेका छन्, ‘हाम्रो अनौपचारिक छलफल र संवादको मूल निष्कर्ष जनताले दिएको मत र विश्वास स्थायी होइन; त्यसलाई काम, इमानदारी र नतिजाबाट प्रमाणित गर्नुपर्छ भन्ने थियो, यथार्थ पनि यही नै हो।’





प्रतिक्रिया