अत्यधिक गर्मी र वन विनाशले चमेराबाट रोग फैलिने सम्भावना:अध्ययन


सिड्नी । जलवायु परिवर्तन, अत्यधिक गर्मी र प्राकृतिक वासस्थानको विनाशले चमेराबाट मानिसमा सर्न सक्ने घातक रोगको जोखिम बढाउन सक्ने एक नयाँ अध्ययनले देखाएको छ।

अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले गरेको अध्ययनअनुसार बढ्दो तापक्रम, वन विनाश र जैविक विविधतामा आएको ह्रासले प्राकृतिक पारिस्थितिक प्रणालीमा असर पारिरहेको छ। यसले चमेराको वासस्थान र आहारमा परिवर्तन ल्याउनुका साथै चमेरा, मानिस र घरपालुवा जनावरबीचको सम्पर्क बढाइरहेको छ।

चिकित्सा जर्नल ‘द बीएमजे’ मा प्रकाशित अन्तर्राष्ट्रिय समीक्षात्मक अध्ययनमा इबोला, मारबर्ग, निपाह, हेन्द्रा र अस्ट्रेलियन ब्याट लाइसाभाइरसजस्ता चमेराबाट सर्न सक्ने खतरनाक रोगको संक्रमण, रोकथाम र व्यवस्थापनबारे विश्लेषण गरिएको विश्वविद्यालयले जनाएको छ।

अध्ययनकी प्रमुख लेखक जेसिका स्ट्यानहोपका अनुसार जलवायु परिवर्तन र वासस्थानको विनाशले चमेराको प्राकृतिक जीवनमा थप दबाब सिर्जना गरिरहेको छ। यसका कारण चमेराहरू सीमित प्राकृतिक वासस्थानमा अनुकूलित हुन बाध्य भइरहेका छन् र मानिससँगको सम्पर्क बढ्न सक्ने अवस्था सिर्जना भएको छ।

अनुसन्धानकर्ताहरूले सहरी क्षेत्रमा रूख कटान र कृषि विस्तारका कारण चमेरा, मानिस तथा पशुधनबीचको सम्पर्क बढ्न सक्ने चेतावनी दिएका छन्।

त्यस्तै, अत्यधिक गर्मीले चमेराबाट निस्कने भाइरसको मात्रा बढाउन सक्ने तथा तातो हावाका लहरका कारण चमेराहरू बिरामी पर्ने वा गर्मीका कारण मर्न सक्ने सम्भावना रहेको अध्ययनमा उल्लेख छ। यसले संक्रमित जनावरसँग मानिसको सम्पर्क बढाउन सक्छ।

भविष्यमा सम्भावित महामारीको जोखिम कम गर्न अनुसन्धानकर्ताहरूले चमेराको प्राकृतिक वासस्थान संरक्षण र पुनःस्थापना, संक्रमित जनावरसँगको सम्पर्क न्यूनीकरण तथा प्रभावकारी खोप र उपचारको विकासमा जोड दिएका छन्।