काठमाडौं, ६ चैत्र । नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले आजको मितिबाटै अब पार्टी पँक्तिलाई १५औं महाधिवेशनको तयारीमा जुट्न आह्वान गरेका छन् । उनले अब निरर्थक र अनुत्पादक बहस छोडेर एकताबद्ध भई पार्टीको साझा दायित्वमा केन्द्रित हुन पनि आह्वान गरेका छन् । सामाजिक सञ्जाल फेशबुकमार्फत उनले यस्तो बताएका हुन् । २१ फागुनमा सम्पन्न निर्वाचनमा पार्टीले नराम्रो पराजय व्यहोरेपछि अहिले सभापति गगन थापाले राजीनामा दिएको सन्दर्भमा र केन्द्रीय समितिको बैठक आह्वान भएको अवस्थामा महामन्त्री घिमिरेले यस्तो अपिल गरेका हुन् ।
उनले लेखेका छन्–
नेपाली कांग्रेससँग दिग्बिजयी सिद्धान्त,गौरवपूर्ण इतिहास,अतुलनीय व्यक्तित्व भएका संस्थापक नेताहरु,सर्वाधिक त्याग र बलिदानको अटुट श्रृङखला,राष्ट्र निर्माणको सुस्पष्ट मार्गचित्र तथा सुनौलो भविष्य छ।त्यसका लागि अहोरात्र काम गर्न सक्ने आशालाग्दो नेतृत्व छ।तसर्थ तपशिलका बहसहरु छाडेर,बिगतका तिता प्रसङ्गहरुलाई बिस्मृतिमा राखेर,पार्टीको आन्तरिक एकतालाई प्रबर्द्धन गर्दै अघि बढ्नु आजको ऐतिहासिक र राष्ट्रिय आवश्यकता हो।अब हामी निरर्थक एवं अनुत्पादक बहस छाडेर एकताबद्ध भई हाम्रो साझा दायित्वमा केन्द्रित बनौं।त्यसैले, पार्टीका सबै साथीहरूलाई बिनम्र आग्रह छ,आजकै मितिबाट सम्पूर्ण एकताका साथ पार्टीको १५औं महाधिवेशनको तयारीमा जुटौं।




प्रतिक्रिया