काठमाडौं, ६ चैत्र । राष्ट्रिय स्वतन्त्र पार्टी सरकार गठनको तयारीमा जुटेको छ । वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वमा यही चैत्र १३ गते नयाँ सरकार बन्दैछ । प्रधानमन्त्रीको रूपमा बालेन शाहले चैत्र १३ गते शपथ लिने भनिएको छ । चैत्र १२ गते प्रतिनिधिसभाका सदस्यहरुको शपथ तय भएको छ । त्यसको भोलिपल्ट बालेन शाहको नेतृत्वमा सरकार बन्ने भएको हो ।
हिजोमात्रै रास्वपाका सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन शाह, उपसभापतिद्धय डिपी अर्याल र स्वर्णिम वाग्ले सरकार गठनको तयारी छलफलमा जुटेका थिए । उपसभापति वाग्लेले राजकाजको विषयमा छलफल भनेर फेशबुकमा तस्विर सार्वजनिक गरेका थिए । बालेन नेतृत्वको शक्तिशाली सरकारमा यसपटक वाग्ले अर्थ मन्त्रालयको नेतृत्व गर्नेगरि जाँदैछन् ।
गृहमन्त्रीमा सभापति लामिछानेले डिपी अर्यालको नाम तय गरेका छन् । यद्धपी उनको नाममा बालेन सहमत भएको वा नभएको भन्ने कुरा बाहिर ल्याईएको छैन । सभापति लामिछानेले यसपटक मनिष झा र सोविता गौतमलाई पनि सरकारमा पठाउने भएका छन् । मनिषलाई सञ्चार मन्त्रालयको जिम्मा दिने तयारी गरिएको छ भने सोवितालाई कानून मन्त्रालयको जिम्मा दिने भनिएको छ । सोविता कानूनको राम्रो दख्खल राख्छिन् ।
०७९ मा रास्वपा सरकारमा जाँदापनि उनलाई मन्त्री बनाउने चर्चा थियो । अहिले चितवन–३ बाट सर्वाधिक मत ल्याएर निर्वाचित भएकी सोवितालाई कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको नेतृत्व सुम्पिने सभापति लामिछानेको तयारी छ । बालेन शाहले भने आफ्ना विश्वासपात्रहरु सुनिल लम्साल र राजुनाथ पाण्डेलाई आफू नेतृत्वको सरकारमा सहभागी गराउने बुझिएको छ । लम्साल र पाण्डे दुवै जना बालेन काठमाडौंको मेयर हुँदा निकट भएर काम गरेका नेतामा पर्छन् ।
आज र भोलिभित्रै रास्वपाले मन्त्रीहरुको नामपनि टुँगो लगाउने बुझिएको छ । सभापति लामिछानेले परराष्ट्र मन्त्रालयमा शिशिर खनाललाई जिम्मा दिने तयारी गरेका छन् । अन्तर्राष्ट्रिय सम्बन्ध र कुटनीतिमा राम्रो दख्खल राख्ने खनाल पार्टीको विदेश विभाग प्रमुख पनि हुन् ।




प्रतिक्रिया