इनिसा हत्या प्रकरणमा अनुसन्धानमा ढिलासुस्ती भएको भन्दै परिवारको आपत्ति, न्याय नपाए प्रतिकारमा उत्रिने चेतावनी
काठमाडौं, ६ चैत्र । स्वतन्त्र राजनीतिज्ञ तथा स्वतन्त्र नागरिक समाजका अगुवा ऋषि धमलाले इनिसा विकको हत्या प्रकरणमा दोषी पत्ता लगाएर कारबाही गर्न विलम्ब नगर्न गृह प्रशासनको ध्यानाकार्षण गराएका छन् ।
आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा पीडित परिवारको सदस्यहरुको उपस्थितिमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै धमलाले आफू पीडित परिवारको घरमा पुगेर पनि दोषीलाई कारबाही गर्न र इनिसालाई न्याय दिलाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरेर आएको स्मरण गराए ।
इनिसा विकाको दाइले बोलेको सुन्दा यो घट्नालाई यत्तिकै फासफुस पार्न खोजिएको आभाष भएको भन्दै सरकारलाई खबरदारी गरे । उनले यो घट्नालाई अतिरञ्जित गर्ने काम गर्न नहुने भन्दै बास्तविकता बुझेर अघि बढ्न मिडियाकर्मीहरुलाई पनि सुझाए । उनले भने,‘हामी सञ्चारकर्मीहरुले इनिसा विकलाई न्याय दिलाउनको लागि खुट्टा कमाउनुहुँदैन । हामीले निर्धक्क भएर समाचार सम्प्रेषण गरौं । यहाँ षड्यन्त्र भएको छ, त्यसको पर्दाफास गरौं । राजनीतिक हस्तक्षेप, संरक्षण हुनसक्छ, त्यसमा पनि हामी इनिसा विकको पक्षमा उभिनुपर्छ । इनिसा विकलाई बलात्कारपछि हत्या गरेको हो । म आज इनिसा विकको दाईलाई के भन्न चाहन्छु भने इनिसा मेरो पनि छोरी हो, तीन करोड नेपालीहरुको छोरी हो, इनिसाले न्याय पाउँछिन्, हामी न्याय दिलाएरै छोड्छौं । बलात्कारीलाई अब फाँसीको व्यवस्था गर्नुपर्छ ।’
धमलाले प्रधानमन्त्री सुशीला कार्की कर्णाली पुगेर रारा तालको अवलोकन गरेको भएपनि इनिसा विकको घरमा नगएकोमा आलोचना गरे । उनले भने,‘प्रधानमन्त्रीज्यू, तपाईं कर्णाली जाँदाखेरि, सुर्खेतमा गएर इनिसा विकको परिवारलाई भेट्नु पर्दैनथियो ? उहाँको आमाबुवालाई भेट्नुपर्दैन् ? सान्त्वना दिनुपर्ने थिएन ? गृहमन्त्री ओमकप्रकाश अर्याललाई पनि मैले भनेको थिएँ । एक जना सरकारको प्रतिनिधि जानुपर्ने थियो ।’

रास्वपाका सभापति रवि लामिछानेले इनिसा विकको हत्या प्रकरणमा एक शब्दपनि किन नबोलेको भनेर पनि धमलाले गुनासो गरे । निर्मला पन्तको हत्या प्रकरणमा रवि लामिछाने र आफू सँगसँगै रहेको पनि उनले स्मरण गराए । लामिछानेले गृहमन्त्री हुँदा निर्मलाको हत्यारालाई कारबाही गर्ने भनेर भनिएको भएपनि अहिलेसम्म कारबाहीको कुनै प्रक्रिया अघि नबढेको पनि स्मरण गराए ।
अब बन्ने प्रधानमन्त्री बालेन शाहलाई आफूले समर्थन गरेको स्मरण गराउँदै सुशासन कायम गर्न र भ्रष्टाचार अन्त्य गर्नको लागि र सामाजिक न्यायको लागि साथ दिएको स्पष्ट पारे । उनले भने,‘रवि लामिछाने र बालेनजी तपाईंहरु अब दुई तिहाई बहुमतको सरकार बनाउँदै हुनुहुन्छ, तपाईंहरुलाई मेरो पूर्ण समर्थन छ । सहयोग छ । तर, बलात्कारीलाई कस्तो कारबाही गर्ने हो, अब छलफल गरौं । इनिसा विकको बलात्कारपछि हत्या भएको छ, त्यहाँ दायाँबायाँ हुनुहुँदैन, त्यहाँ चलखेल हुनुहुँदैन, यदि हाम्रो देशमा बलात्कारको घट्ना रोक्ने हो भने कडा कारबाही गरिनुपर्छ, दोषीलाई फासीको सजाय दिनुपर्छ ।’ यो घट्नालाई आफूले कुनैपनि हालतमा सेलाउन नदिने भन्दै सडकमा एक्लै भएपनि उभिने उद्घोष गरे ।

इनिसा बिकका दाजु चन्द्रबहादुर विकले न्यायको पर्खाईमा आफूहरु १४ दिनदेखि लडिरहेको भन्दै कहिले न्याय पाउँछौं भनेर सरकारसँग सोधेका छन् । अनुसन्धानमा खटिएका अधिकृतलाई घट्नाको अनुसन्धान किन ढिला भनेर सोध्दा अहिलेसम्म इनिसाको मोवाइलको लक खोल्न नसकिएको भनेर अधिकृतले भनेको पनि उनले सुनाए ।
पोष्टमाटम रिपोर्टमा अत्यधिक रक्तश्रावको कारण मृत्यु भएको भनिएकोले पोष्टमाटममा संलग्न चिकित्सकलाई पनि सरकारले अनुसन्धानको दायरामा ल्याउनुपर्ने आफूहरुको माग रहेको उनको भनाई छ । घट्नाको दिनमा नै हत्यारा समातिएको भन्दै अहिलेसम्म अनुसन्धानलाई किन फितलो बनाईएको भन्दै उनले अर्को प्रश्न सुनाए । पीडकहरुको सामाजिक सञ्जालमा आउने अभिव्यक्तिले आफूहरुलाई झनै पीडा दिएको पनि उनको गुनासो छ । घट्ना घटेको १४ दिन बितिसक्दापनि अहिलेसम्म पनि एउटापनि वक्तव्य नआउनु दुःखदायी कुरा भएको उनको टिप्पणी छ ।
कार्यक्रममा डा. जगत विक, विष्णु रसाईली, पिटर चुनारालगायतले सम्बोधन गरेका थिए । उनीहरुले इनिसाको न्यायको लागि निरन्तर लड्ने प्रतिबद्धता व्यक्त गरे । यो घट्नालाई ढाकछोप गर्न खोजिएको भन्दै आफूहरु प्रतिकारमा उत्रिने उनीहरुको चेतावनी थियो ।




प्रतिक्रिया