रौतहटमा ऋषि धमलाको सम्बोधन : जनतालाई भगवान मान्ने र जनताको साथमै बस्ने नेता चाहिएको छ (भिडिओ-सहित)


काठमाडौं, ७ चैत्र । स्वतन्त्र राजनीतिज्ञ तथा स्वतन्त्र नागरिक समाजका अगुवा ऋषि धमलाले अब जनतालाई भगवान र जनताको साथमै बस्ने नेता चाहिएको बताएका छन् । २१ फागुनको चुनावपछि आज आज रौतहट पुगेका धमलाले चन्द्रपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

उनले भने,‘आज म तपाईंहरुको बीचमा किन आएँ ? यहाँबाट चुनावी प्रतिष्पर्धामा भाग लिएर काठमाडौं गएपछि मलाई पत्रकारिता नै गर्नुपर्छ भनेर आग्रह गरिएको थियो, करिब करिब एक हजार फोन कल मैले रिसिभ गरें यो बीचमा, नेताहरुले पनि फोन गर्नुभयो, पत्रकारितामा फर्किनुपर्यो भनेर, त्यसपछि मैले धेरै किसिमको बहस गरें, रौतहटका जनतालाई वाचा गरिसकेको छु, वाचापत्र पनि ल्याइसकेको छु, चुनावमा हारजित हुन्छ, विश्वमै यस्तो हुन्छ, अमेरिकाका अहिलेका राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि चुनाव हार्नुभएको थियो, अहिले जितेर आउनुभएको छ, धेरै नेताले चुनाव हार्छन्, जित्छन्, यो स्वाभाविक हो । तर, जनताले हार्नुहुँदैन । जनतालाई केन्द्रमा राख्नुपर्छ ।’

रौतहटका जनताबीच आफूले गरेका वाचा पूरा गर्नको लागि रौतहट आएको धमलाले सुनाए । उनले भने,‘मैले धेरै सोचें, राजनीतिमा निरन्तर लागौं कि पत्रकारितामा फर्किऔं कि ? के गरौं भनेर धेरै सोचेको थिएँ, मैले यही माटोको कसम खाएर रौतहट छोड्दिनँ भनेर भनेको थिएँ, रौतहटलाई सम्पन्न बनाउँछु, रौतहटको विकास गर्छु, यहाँको स्वास्थ्य र शिक्षामा आमूल परिवर्तन गर्छु भनेको छु ।’