उपराष्ट्रपति यादवसँग बंगलादेशका राजदूत रहमानको शिष्टाचार भेट


काठमाडौं, ९ चैत । उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि बंगलादेशका राजदूत महामहिम मो. शफिकुर रहमानले सोमबार काठमाडौंको लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेट गरेका छन् ।

भेटमा शुभकामना आदान–प्रदानसँगै द्विपक्षीय सम्बन्धका बहुआयामिक पक्षहरूबारे छलफल भएको थियो । उपराष्ट्रपति यादवले सन् १९७२ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नेपाल–बंगलादेशबीच मित्रवत् एवं सौहार्दपूर्ण सम्बन्ध रहिआएको उल्लेख गर्दै हाम्रो सम्बन्ध सार्वभौमिक समानता, आपसी सम्मान तथा विश्वासमा आधारित रहेको बताए । उनले बंगलादेशसँगको सम्बन्धलाई नेपालले उच्च महत्त्व दिँदै आएको बताए ।

उपराष्ट्रपति यादवले बंगलादेशमा हालै सम्पन्न निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा बधाई दिँदै नयाँ सरकारलाई सफलताको शुभकामना दिए । नेपालमा पनि प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भई नयाँ सरकार गठनको प्रक्रियामा रहेको उल्लेख गर्दै उनले दुवै सरकारबीच सहकार्य सुदृढ हुँदै नेपाल–बंगलादेश सम्बन्धका विविध आयामले थप उचाइ हासिल गर्ने विश्वास व्यक्त गरे ।

नेपालको विकासका लागि बंगलादेशको अनुभवबाट असल अभ्यासहरू सिक्न सकिने बताउँदै उपराष्ट्रपति यादवले सहकार्यद्वारा दुवै देशका जनताहरूको सुख–समृद्धि अभिवृद्धि हुनेमा जोड दिए ।

भेटका क्रममा महामहिम राजदूत रहमानले नेपाल–बंगलादेश सम्बन्ध आपसी विश्वासमा आधारित रहेको र जनता–जनताबीचको सम्बन्धमा निहित रहेको उल्लेख गरे । उनले वाणिज्य, शिक्षा तथा ऊर्जा क्षेत्रमा सहकार्यलाई प्राथमिकता दिन सकिने बताउँदै हाल नेपालबाट ४० मेगावाट विद्युत प्राप्त भइरहेकोमा यसलाई ६० मेगावाट पुर्याउन अनुरोध गरे । साथै, नेपालको व्यापार घाटा कम गर्न बंगलादेश सहकार्य गर्न तयार रहेको राजदूत रहमानले बताए ।