काठमाडौं, १० चैत्र । नेकपा (एमाले) की प्रभावशाली नेतृ अष्टलक्ष्मी शाक्यले जनताले माया गरेको कारण एमाले बलियो शक्तिशो रुपमा स्थापित भएको भएपनि यसपटकको निर्वाचनमा पार्टीलाई ठूलो धक्का लागेको बताएकी छिन् । उनले आफूहरुको लागि यो निर्वाचन परिणाम ठूलो धक्का भएको बताईन् । जनताको बीचमा अत्यन्तै लोकप्रिय दलको रुपमा स्थापित एमाले विगतमा नेताहरुको त्याग, तपस्या, बलिदानीको जगमा स्थापित भएको भन्दै मनमोहन अधिकारीको सरकारको नेतृत्व, मदन भण्डारीको नेतृत्व र विचारको पनि उनले स्मरण गराईन् ।
आज (मंगलबार) विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार खेम बमसँगको कुराकानीमा उनले यस्तो बताएकी हुन् । उनले भदो २३ गते घटेको घटनालाई अचानक र सुनियोजितको संज्ञा दिईन् । भदो २३ गतेको घटनाले नै एमालेलाई निर्वाचनमा नोक्सान गराएको उनको दाबी छ । उनले भने,‘भदो २३ गते स्कुले भाइ बहिनीहरुको मृत्यु भएको थियो, त्योबेला प्रधानमन्त्री हाम्रो पार्टीको अध्यक्ष केपी कमरेड नै हुनुहुन्थ्यो, एमाले र कांग्रेस सरकारमा थिए, जुन घट्ना घट्यो, त्यसैले नै हामीलाई नोक्सान गरायो भन्ने मलाई लाग्छ, त्योबेलामा हामीले प्रधानमन्त्रीलाई कसरी घटना घट्यो ? कहाँबाट गोली चल्यो ? यो घटना हुनै नपर्ने थियो, यस्तो अप्रिय घटना नहुनुपर्दथ्यो, तपाईंले प्रधानमन्त्री भएको नाताले सरी माग्नुपर्दथ्यो, तुरुन्तै राजीनामा दिनुपर्दथ्यो भनेर हामीले भनेकै हो । तर, त्यो हुन सकेन । त्यो अत्यन्तै पीडादायी घटना थियो । देश नै कालो बनाउने घटना थियो ।’
उनले एमाले परिवर्तनकारी शक्ति भएको स्पष्ट पारिन् । एमालेको नेतृत्वमा देशमा लोकप्रिय काम भएको पनि उनको दाबी छ । उनले एमालेको नेतृत्व केपी ओली परिवर्तन हुन नसकेको उनको आरोप छ । उनले भने,‘स्थितिलाई हेर्दै आफ्नो सोच, शैली र व्यवहारमा बदलिनुपर्ने थियो, अहिले तेस्रो र चौथो पुस्ता पनि आईसकेको छ, त्यो पुस्ताको भावनालाई बुझेर अघि बढ्नुपर्दथ्यो, उहाँले पार्टीभित्रको कुरा पनि सुनेको भए राम्रो हुन्थ्यो । आलोचना पनि सुन्नुपर्छ । त्यो पनि मूल नेतृत्वमा अभाव देखियो । दम्भ, घमण्डले काम गर्ने देखियो । विमति र आलोचना सुन्नै नचाहने भयो ।’
एमालेको इतिहास गर्विलो भएको भन्दै अहिले पार्टीको यो अवस्था देखेर दुःख लागेको उनको भनाई छ । माओवादी शान्ति प्रक्रियामा आएपछि जनतलो ठूलो विश्वास गरेर मत दिएको स्मरण गराउँदै त्यो टिकाउन नसकेको पनि उनले स्मरण गराईन् । उनले रास्वपाले अहिले जनमत पाएको भन्दै देश र जनताको हितमा काम गर्न सुझाव दिईन् । जनताको विश्वासलाई कतिसम्म टिकाउन सक्छ भन्ने कुरा रास्वपाको मूल नेतृत्वको हातमा रहेको उनको भनाई छ । उनले भने,‘देशको सार्वभौमिकतालाई सर्वोपरि ठानेर उहाँहरुले काम गर्नुपर्छ ।’ file photo




प्रतिक्रिया