प्रधानमन्त्री कार्कीलाई ऋषि धमलाको सुझाव : जाँचबुझ आयोगको प्रतिवेदन आज राति अबेरसम्म भएपनि सार्वजनिक गर्नुहोस (भिडिओसहित)


काठमाडौं, १० चैत्र । स्वतन्त्र नागरिक समाजका अगुवा तथा स्वतन्त्र राजनीतिज्ञ ऋषि धमलाले भदौ २३ र भदौ २४ गतेको घटनाको छानबिनको लागि गठित जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारसमक्ष दबाव दिएका छन् । प्रतिवेदन सार्वजनिक गर्न माग राख्दै माइतीघरमा भेला भएका युवाहरुलाई सम्बोधन गर्दै धमलाले जेनजी आन्दोलनका पीडितहरुले न्याय पाउनुपर्ने पनि बताए ।

प्रधानमन्त्री सुशीला कार्कीले जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्नुपर्ने धमलाको मत छ । उनले भने,‘जेनजीहरुको मागलाई साथ दिएको मान्छे हुँ, जेनजीहरुको माग सम्बोधन हुनुपर्छ । यसपटक तपाईंहरुको कारणले नै चुनाव भयो । बालेन शाह प्रधानमन्त्री बन्दैहुनुनुहुन्छ, जेनजीहरुले अहिलेसम्म न्याय पाएका छैनन् । तपाईंहरुको मागलाई सम्बोधन गर्नको लागि पनि प्रधानमन्त्रीले गौरीबहादुर कार्कीको प्रतिवेदन आज/भोलिभित्रै सार्वजनिक गर्नुपर्छ ।’

जेनजी आन्दोलनका घाइते र शहिद परिवारले अझै न्याय नपाएको उनको भनाई छ । अहिलेको सरकारले जेनजी आन्दोलनको मर्म र भावनाअनुसार काम नगरेको पनि धमलाको गुनासो छ । धमलाले प्रधानमन्त्री कार्कीलाई आज राति अबेरसम्म भएपनि उक्त प्रतिवेदन सार्वजनिक गर्न सुझाव दिएका छन्। उनले यो घटनामा दोषी देखिएकाहरुलाई कारबाही हुनुपर्ने र पीडित परिवारले न्याय पाउनुपर्ने बताए । जेनजीको सरकार र जेनजीको गृहमन्त्री हुँदापनि आफूहरुले न्याय नपाएको भन्दै आन्दोलनमा उत्रिएका युवाहरुले गुनासो पोखेका थिए ।