“बालेनले एक्सन गर्नुहुन्छ, म रियाक्सन गर्छु”


काठमाडौं, १२ चैत्र । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले रास्वपाका सभापति रवि लािमछाने र वरिष्ठ नेता बालेन शाहमध्ये लामिछाने चाहीँ उत्तर दिनेखालको मान्छे भएको चित्रण गरे । उनले भने,‘रवि र बालेनजीको तुलना गर्दा रविजी उत्तर दिने खालको मान्छे हो, बालेनजी बोल्नुहुन्न, त्यो नबोल्ने मान्छेलाई कसरी प्रश्न सोध्ने होला भनेर मैले आफ्नो असहजताको लागि रविजी प्रधानमन्त्री बन्दा राम्रो हुन्छ भनेको हुँ । मैले त्यति भन्दैमा त्यो पार्टी फुट्छ भने के काम ? एक सय दिन काम गर्न दिउँ भन्ने कुरा त हो ।’

हिजो (बुधबार) प्राइभ टिभीबाट प्रसारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि थपलियासँगको कुराकानीमा उनले आफूले आफ्नो सहजताको लागि र जनताको लागि पनि रवि लामिछाने प्रधानमन्त्री बन्दा राम्रो हुन्छ भनेर बोलेको स्पष्ट पारे । उनले आफूहरुले प्रतिपक्षको रुपमा रचनात्मक सुझाव दिने र त्यहीअनुसारको भूमिका खेल्ने पनि दाबी गरे । उनले आफूहरुले झनै धेरै प्रश्न गर्ने वाचा गरे ।

बालेन शाहको नाम सुन्नेबित्तिकै आफूलाई कुनै एलर्जी नहुने र आफूहरुबीच व्यक्तिगत नराम्रो केही पनि नभएको उनको तर्क छ । उनले भने,‘उहाँ काम गर्ने ठाउँमा हुनुहुन्छ, म काम गराउने र प्रश्न गर्ने ठाउँमा छु, उहाँ एक्शन गर्नुहुन्छ, म रियाक्सन देखाउँछु । रियाक्सनअनुसार उहाँहरुले करेक्सन गर्नुपर्छ । म पनि जनताको निर्वाचित प्रतिनिधि हुँ, सरकारलाई ट्रयाकमा हिँडाउने काम हुन्छ । मैले असहयोग गर्छु भन्ने कुरा के छ र ?’ उनले आफूले बालेन शाहलाई घृणा नगरेको स्पष्ट पारे । उनले आफूले बालेन शाहलाई खराब काम गर्न नदिने बताए ।