कारबाहीको दायरामा ल्याउनुपर्नेहरुलाई नै जयजयकार गर्ने प्रवृत्ति सुरु हुन दुःखद् : महेश बस्नेत



काठमाडौं, १२ चैत्र । नेकपा (एमाले) का सचिव तथा पूर्वमन्त्री महेश बस्नेतले भदौ २३ र भदौ २४ गतेको घट्नाको छानबिन गर्न बनेको गौरी बहादुर कार्की आयोगको प्रतिवेदन ‘लिक’ भएको नाममा केही नेता, प्रशासक, सेना, सुरक्षाकर्मी, पत्रकार र कलाकारलाई मात्र दोषी देखाउँदै भदौ २४ गतेका आगजनी, तोडफोड र व्यक्तिहत्याका गम्भीर घटनाहरू ओझेलमा पारेर सार्वजनिक गर्ने प्रयास गरिएको आरोप लगाएका छन् ।

उनले आग्रहपूर्ण र षड्यन्त्रपूर्ण ढंगले प्रतिवेदन सार्वजनिक गरी उक्त घटनामा जाहेरीसमेत परेका तथा कारबाहीको दायरामा ल्याउनुपर्ने व्यक्तिहरूलाई नै ‘जयजयकार’ गर्ने प्रवृत्ति सुरु हुनु दुःखद भएको टिप्पणी गरेका छन् । उनले फेशबुकमा लेखेका छन्–

गौरी बहादुर कार्की आयोगको प्रतिवेदन ‘लिक’ भएको नाममा केही नेता, प्रशासक, सेना, सुरक्षाकर्मी, पत्रकार र कलाकारलाई मात्र दोषी देखाउँदै भदौ २४ गतेका आगजनी, तोडफोड र व्यक्तिहत्याका गम्भीर घटनाहरू ओझेलमा पारेर सार्वजनिक गर्ने प्रयास गरिएको देखिन्छ। आग्रहपूर्ण र षड्यन्त्रपूर्ण ढंगले प्रतिवेदन सार्वजनिक गरी, उक्त घटनामा जाहेरीसमेत परेका तथा कारबाहीको दायरामा ल्याउनुपर्ने व्यक्तिहरूलाई नै ‘जयजयकार’ गर्ने प्रवृत्ति सुरु हुनु दुःखद छ।

याद रहोस् भदौ २३ को आन्दोलन भड्काउने, स्कुले ड्रेसमा बालबालिकालाई जबरजस्ती सडकमा उतार्ने, उनीहरूलाई चारैतिरबाट घेराबन्दी गरेर तनावपूर्ण वातावरण सिर्जना गर्ने र आतंक निम्त्याउने काम, साथै भदौ २४ मा उग्र उपद्रो मच्चाउँदै सदन, सिंहदरबार, सर्वोच्च अदालत, सरकारी कार्यालयहरू, निजी उद्योग र व्यक्तिका घरहरूमा आगजनी तथा तोडफोड गर्ने जस्ता घटनामा विभिन्न सन्देहास्पद एनजीओ/आइएनजीओको रकम अपराधमा प्रयोग भएको विषय बेवास्ता गर्नु अत्यन्त गम्भीर कुरा हो।

शक्तिको पूजा गर्ने चलन नेपाली समाजमा पुरानै हो। तर शक्तिको आडमा गरिने आतंककारी गतिविधि र त्यसको नेतृत्व समाजका लागि कदापि स्वीकार्य हुन सक्दैन। शक्ति आज छ, भोलि हुँदैन त्यसैले समयमै सम्हालिनु बुद्धिमानी हुन्छ; उपद्रो गर्नु होइन।

शान्ति र प्रगतिका बाटो छाडेर प्रतिसोध र द्वन्द्वको बाटोमा हिँड्दा फेरि अर्को आन्दोलन सृजना हुने र अर्को कार्की आयोग गठन गर्नुपर्ने अवस्था आउन सक्छ। यसले देशलाई दीर्घकालीन द्वन्द्वको भुमरीमा पार्ने खतरा छ । चेतना होस्।