यसरी लिए संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सिन्हाले बिदाई


काठमाडौं, १२ चैत । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाले आज आयोजित एक कार्यक्रमबीच भावुक वातावरणमा पदबाट बिदाई लिएका छन्। बिदाई समारोहमा मन्त्रालयका उच्च अधिकारी तथा कर्मचारीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रममा मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौलाले मन्त्रीको कार्यकालबारे चर्चा गर्दै मंसीर २८ देखि हालसम्म १०५ दिनको अवधिमा भएका महत्वपूर्ण निर्णय र उपलब्धिहरूको समीक्षा प्रस्तुत गरे। उनले छोटो समयमै नीतिगत र संरचनात्मक सुधारका प्रयासहरू भएको उल्लेख गरे।

बिदाई मन्तव्यका क्रममा मन्त्री सिन्हाले कर्मचारीहरूलाई देशको अमूल्य सम्पत्ति र विकासको प्रमुख माध्यमको रूपमा व्याख्या गरे। “कर्मचारीलाई सही दिशामा परिचालन गर्न सकिएमा देशको विकास तीव्र गतिमा अघि बढ्न सक्छ,” उनले भने। साथै, मन्त्रालयमा रहँदा भएका उपलब्धिहरू आफ्नो मात्र नभई सम्पूर्ण कर्मचारीहरूको सामूहिक प्रयासको परिणाम भएको उल्लेख गर्दै उनले सबैप्रति प्रशंसा व्यक्त गरे।

उनले आफ्नो कार्यकालमा कार्यपालिका र न्यायपालिकाको अनुभवसँगै व्यवस्थापिकाको अनुभव समेत हासिल गर्ने अवसर प्राप्त गरेको स्मरण गरे। “राष्ट्रिय सभामा विधेयकमाथि छलफलमा सहभागी हुँदै व्यवस्थापिकाको अभ्यास गर्ने अवसर पनि मिल्यो,” उनले थपे।

यसैबीच, भदौ २३ र २४ गते सहादत प्राप्त गरेका शहीदहरूको सम्मानस्वरूप आमनिर्वाचन सम्पन्न गराउने जिम्मेवारी सफलतापूर्वक पूरा गरिएको उनले बताए। अब नयाँ सरकारलाई ‘जेन–जी आन्दोलन’को भावना अनुरूप सेवा प्रवाहलाई अझ तीव्र र प्रभावकारी बनाउनुपर्ने आवश्यकता रहेको धारणा उनले राखे।