राष्ट्रको नाममा प्रधानमन्त्री कार्कीको सम्बोधन : जननिर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न पाउँदा खुशी छु


काठमाडौं, १२ चैत्र । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गरेकी छन् । भोलि बालेन शाहको नेतृत्वमा नयाँ सरकार बन्नेपछि प्रधानमन्त्री कार्कीेले देशवासीको नाममा आज अन्तिम सम्बोधन गरेकी छिन् । उनले निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न पाउँदा आफू खुसी भएको प्रतिक्रिया दिएकी छिन् ।

उनले आफू धेरै आशा बोकेर बिदा हुन लागेको उल्लेख गरेकी छिन् । सम्बोधनमा उनले भनेकी छिन्, ‘६ महिनाभित्र निर्वाचन सम्पन्न गरी जननिर्वाचित सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्ने उद्देश्यले मैले यो भूमिका स्वीकार गरेकी थिएँ, अहिले म केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु ।’

उनले २१ फागुनमा सम्पन्न भएको निर्वाचनले आफुहरुलाई एउटा महत्त्वपूर्ण पाठ सिकाएको स्मरण गराएकी छिन् । निस्वार्थ भावले देशको हितका लागि काम गर्दा जनताको साथ अवस्य पाइने पनि प्रधानमन्त्रीले उल्लेख गरेकी छिन् । उनले भनिन्, -“संकटका बेला नेपालीहरु एकजुट भएर सामना गर्न सक्छन् भन्ने कुरा हामीले पुन प्रमाणित गरेका छौँ र हाम्रो राष्ट्रिय क्षमता कम्जोर भएको छैन र आफ्नो समस्या आफैं सुल्झाउन सक्छौं भन्ने पनि साबित गरेका छौँ । यस अवधिमा केहि राम्रो गर्न सकिएको रहेछ भने त्यो तपाईंहरुकै कारण सम्भव भएको हो । यस निम्ति तपाईंहरु सबैप्रति नतमस्तक छु । यदि कमजोरी रह्यो भने त्यो मेरै भागमा पारिदिनु होला ।”

तस्विर : केशव थापा/प्रम कार्कीको सचिवालय