मुलुकले आज नयाँ प्रधानमन्त्री पाउँदै, सवा २ बजे पद बहाली


काठमाडौं, चैत १३ । मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहलाई प्रधानमन्त्रीको शपथ गराउने कार्यक्रम तय गरिएको बताइएको छ ।

त्यसअघि नेता शाहलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको जानकारी गराइनेछ । नेपालको संविधानको धारा ७६ को उपधारा १ अनुसार एकल सरकार गठन हुन लागेको हो ।

राष्ट्रपति कार्यालयका अनुसार अपराह्न प्रधानमन्त्रीको पद तथा गोपनियताको शपथ ग्रहणको कार्यक्रम तय गरिएको बताइएको छ । शपथ ग्रहण समारोहमा सहभागी हुन विभिन्न राजनीतिक दल, यहाँस्थित कूटनीतिक नियोगका प्रतिनिधि, नागरिक समाज, उच्च सरकारी अधिकारीलाई आमन्त्रण गरिसकिएको छ ।

प्रधानमन्त्रीको शपथसँगै मन्त्रीहरूको पनि शपथ गराइने बुझिएको छ । शपथ ग्रहण समारोह दिउँसो १२:३४ बजेका लागि तय भएको छ । उक्त शपथ ग्रहण समारोहमा ७ वटा शंखबाट शखनाथ हुने, १०८ जना बटुकबाट स्वस्ती शान्ति वाचन गर्ने, १६ जना बौद्ध भिक्षुबाट अष्ठमंगल पाठ गरिने तालिका रहेको छ । त्यस्तै दिउँसो सवा २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्रीले पद बहाली गर्नेछन् ।

गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले १८२ सिटमा जित निकालेको छ । सो दलले बिहिबार मात्रै नेता शाहलाई संसदीय दलको नेता चयन गरिसकेको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेता शाहले झापा क्षेत्र नं ५ बाट ६८ हजार ३४८ मत प्राप्त गरी विजयी भएका थिए । बिहिबार नै प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अजुर्ननरसिंह केसीले सांसदहरूलाई पद तथा गोपनियताको शपथ गराइसकेका छन् ।