ओली पक्राउ परेपछि एमाले सचिवालय बैठक बस्दै, संघर्ष सुरु गर्ने तयारी


काठमाडौं, चैत १४ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि पार्टी सचिवालय बैठक बस्दैछ । पूर्व प्रधानमन्त्रीसमेत रहेका ओली आज बिहान आफ्नै निवास भक्तपुरको गुण्डुबाट पक्राउ गरी भद्रकाली स्थित जिल्ला प्रहरी परिसर पुर्याइएको छ ।

भदौ २३ र २४ मा भएको जेनजी प्रदर्शनबारे जाँचबुझ गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले पूर्व प्रधानमन्त्री केपी ओली र रमेश लेखकसहित केन्द्रीय सुरक्षा समितिका पदाधिकारीलाई फौजदारी मुद्दामा अनुसन्धान गर्न सिफारिस अनुसार पक्राउ गरेपछि एमालेले अहिले साढे ८ बजे बस्नेगरी बैठक बोलाएको छ । बैठकमा आगामी रणनीति तय गर्ने पार्टी सचिव महेश बस्नेतले जानकारी दिएका छन् ।

एमालले सरकारले राजनीतिक प्रतिशोध र पूर्वाग्रहमा उत्रिएको आरोप लगाउँदै एमालेले संघर्षका कार्यक्रम अघि बढाउने तयारी गरेको छ। यसअघि नै एमालेका भ्रातृ संगठनहरूले संयुक्त विज्ञप्ति जारी गर्दै सुरक्षाकर्मीका विषयमा छुट्टै समिति बनाएर अनुसन्धान गर्ने र राजनीतिक नेतृत्वका हकमा सिफारिस कार्यान्वयन गर्ने निर्णयलाई विपक्षीप्रति पूर्वाग्रही र प्रतिशोधपूर्ण कदमका रूपमा टिप्पणी गरेका थिए ।

शुक्रबार बालेन शाह नेतृत्वको पहिलो मन्त्रिपरिषद्ले ओली र लेखकलाई फौजदारी मुद्दा चलाउने आयोगको सिफारिस कार्यान्वयन गर्ने निर्णय गरेको थियो । यससँगै ओली र लेखक पक्राउ परेका हुन् ।