काठमाडौं, चैत १४ । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका छन् । आज बिहान निवासबाटै पक्राउ गरिएका उनलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगिएको र चिकित्सकको सुझावपछि बेड भर्ना गरिएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पक्राउपछि प्रारम्भिक स्वास्थ्य परीक्षणका क्रममा थप उपचार तथा अवलोकन आवश्यक देखिएपछि ओलीलाई चिकित्सक र प्रहरीको निगरानीमा अस्पतालमै राखिएको हो । उनलाई चिकित्सकको सल्लाहअनुसार अस्पतालको एनेक्स वान भवनस्थित विशेष कक्षको ५०१ नम्बर बेडमा भर्ना गरिएको छ ।
मिर्गौला प्रत्यारोपण गरेका ओलीको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै निगरानीमा राखिएको बताइएको छ ।उनको रगत परीक्षण, भिडियो एक्सरे लगायतका जाँच गरिएको छ ।
प्रहरीले आज बिहानै पक्राउ ओली र कांग्रेस नेता रमेश लेखकलाई भोली अदालतमा उपस्थित गराउने भएको छ । आज शनिबार सार्वजनिक बिदा परेकाले उनीहरूलाई थप अनुसन्धानका लागि अनुमति माग्न भोली आइतबार अदालतमा पेस गरिने भएको हो । यस प्रक्रिया अन्तर्गत दुबै जनालाई भोली जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौं हुँदै जिल्ला अदालत काठमाडौंमा लगिनेछ ।
कानुनी प्रावधानअनुसार प्रहरीले पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई अधिकतम २४ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न सक्ने व्यवस्था छ । पूर्वगृहमन्त्री रमेश लेखकलाई भने प्रहरीले महाराजगञ्जस्थित प्रहरीको २ नम्बर गणमा पुर्याएको छ ।




प्रतिक्रिया