काठमाडौं, १४ चैत्र । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली पक्राउ परेका छन् । जेनजी आन्दोलनको छानबिन गर्न गठित जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने बालेन शाह नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद् बैठकको निर्णयबमोजिम नै प्रहरीले ओलीलाई पक्राउ गरेको हो ।
गृहमन्त्री सुधन गुरुङ हिजो राति नै ओलीलाई पक्राउ गर्न चाहन्थे । त्यसको लागि उनले राति अबेरसम्म पनि प्रहरी प्रधान कार्यालय, नक्शालमा प्रहरी प्रमुख दानबहादुर कार्की र सशस्त्र प्रहरी बलका प्रमुख राजु अर्यालसँग छलफल गरेका थिए । तर, प्रहरीले भने आज विहान ६ बजेमात्रै ओलीलाई पक्राउ गरेको हो ।
ओलीले डेरा लिएर बसेको गुण्डुमा भने प्रहरीले आज विहानीपखबाट नै प्रहरी भ्यान स्टाण्डबाई राखेको थियो । प्रहरीको टोली विहान ओली निवास पक्राउ गर्नको लागि पुग्दा गेटमा भने एकछिन एमाले कार्यकर्ताहरुले अवरोध गरेका थिए । तर, अनुसन्धान अधिकृतहरु भने बल प्रयोग गरेर ओली निवास छिरेका थिए ।
सार्वजनिक भएका भिडिओमा प्रहरी र एमाले कार्यकर्ताहरुबीच एकछिन स्थिति तनावपूर्ण बनेको थियो । भित्र कोठामा रहेका ओलीले भने सहजै गिरफ्तारी दिएको प्रहरी अधिकारीहरुको भनाई छ । पक्राउ पुर्जीमा ‘एकप्रति बुझिलिएँ’ भनेर हस्ताक्षर गरेका थिए । प्रहरीको भ्यान भएको ठाउँमा जानुअघि भने ओलीले पत्नी राधिका शाक्यलाई अंकमाल गरेको बताईन्छ । सो क्रममा एकछिन राधिका भावुक बनेकी थिईन् ।
पक्राउ परेका ओलीलाई भने उनकै गाडीमा हालेर जिल्ला प्रहरी परिसर काठमाडौँ ल्याईएको थियो । स्वास्थ्य जाँचको त्रिवि शिक्षणा हस्पताल पुर्यार्ईएपछि भने उनलाई अस्पतालको भिआईपी बेडमा भर्ना गरिएको छ । भर्ना कक्षामा भने अहिले पत्नी राधिका औषधीलगायतका अत्यावश्यक सामाग्री लिएर पुगेकी छिन् ।




प्रतिक्रिया