काठमाडौं, चैत १५ । रोशी खोलामा आएको बाढीले अस्थायी सडक बगाएपछि रोशी क्षेत्रको बिपी राजमार्गमा अवरुद्ध भएको छ । उक्त खोलामा पानीको बहाव नघटेपछि निरन्तरको वर्षाका कारण अस्थायी डाइभर्सन समेत सञ्चालनमा ल्याउन नसकिएपछि प्रहरी उक्त राजमार्गमा सवारी चलाउन रोक लगाएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले शनिबार रातिदेखि राजमार्ग नखुलेसम्म सवारी आवागनममा रोक लगाएको छ । रोशी क्षेत्रको चौकीडाँडादेखि नेपालथोकसम्मको करिब चार किलोमिटर ‘डाइभर्सन’ बगाएको थियो । जसका कारण शुक्रबार साँझदेखि नै उक्त राजमार्ग ठप्प अवस्थामा रहेको छ । शनिबार सडक विभाग, नेपाल प्रहरी, ट्राफिक प्रहरी र स्थानीयको सहयोगमा सडकलाई अस्थायी निर्माण गरी सञ्चालनमा ल्याउने योजना बनाइए पनि शनिबारको पटकपटकको वर्षाका कारण सञ्चालनमा ल्याउन छैन् । रोशी खोलाको पानीको बहाव घट्यो भने आजदेखि उक्त क्षेत्रमा डाइभर्सन निर्माण गरी सवारी सञ्चालनार्थ प्रयास जारी गरिनेछ ।
गत सालको बाढीपहिरोले बगाएको उक्त सडकखण्डमा बनाइएको १८ किमी डाइभर्सनमध्ये विभिन्न स्थानको चार किमी बगाएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ । डाइभर्सन बगाएको स्थानमा रोशी खोलामा पानीको बहाव घट्न थालेपछि शनिबार बिहानदेखि पुनर्निर्माण थालिए पनि निरन्तरको वर्षाका कारण डाइभर्सन निर्माणमा कठिनाइ भएको छ । बाढीले स्थायी पुनर्निर्माणमा भने कुनै प्रकारको क्षति पुर्याएको छैन ।
गत वर्ष असोजको बाढीपहिरोले चौकीडाँडा–नेपालथोक सडकखण्ड पूर्ण रूपमा क्षतिग्रस्त बनाएपछि खोलाबाटै अस्थायी सडक एवं डाइभर्सन बनाएर यातायातका साधन सञ्चालन गर्दै आइएको थियो ।
रोशी खोलामा आएको बाढीले बगाएर शुक्रबार राति ९ः०० बजे उक्त राजमार्गमा कार्यरत रोशी गाउँपालिका–७ निबासी अन्दाजी ४० वर्षका कुन्साङ तामाङको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय मङ्गलटारका अनुसार उक्त कार्यालयका सुपरभाइजर मृतक तामाङ रातको समयमा स्थायी रूपमा निर्माणाधीन बिपी राजमार्गमा समेत काम गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट पाइएको छ । यस्तै सोही समयमा चौकीडाँडा नजिकै रोशी खोलाको बाढीमा फसेकामध्ये सात जनालाई भने उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ । प्रहरीका अनुसार बाढीले एक मोटरसाइकल र एक इलेक्ट्रिक गाडी बगाएको छ ।
यसैबीच वर्षाका कारण बिपी राजमार्गको रोशी क्षेत्रको विभिन्न स्थानमा सडक अवरुद्ध भएपछि ट्राफिक प्रहरीले शुक्रबार साँझदेखि नै सवारीसाधन ‘होल्ड’ गरेको थियो । धुलिखेलको काभ्रेभन्ज्याङ¬ र भकुण्डे तथा पूर्वतर्फबाट राजधानी प्रवेश गर्ने नेपालथोक र मङ्गलटारमा सवारीसाधन ‘होल्ड’ गराएको छ।




प्रतिक्रिया