काठमाडौं, चैत १५ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गरिएकोविरुद्ध बन्दीप्रत्यक्षीकरण रिट लिएर आज एमाले सर्वोच्च अदालत जाने भएको छ । प्रहरीले ओलीलाई जरुरी पक्राउ पुर्जी जारी गर्दै पक्राउ गर्नु गैरकानुनी रहेको जनाउँदै एमाले बन्दीप्रत्यक्षीकरण रिट लिएर आज सर्वोच्च जान लागेको हो ।
शनिबार बिहान पक्राउ परेको आली र पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेको प्रक्रिया पनि नमिलेको जनाउँदै एमाले कानुनी प्रक्रिया नपुर्याई गरिएको पक्राउ प्रक्रियागत रूपमा गलत र दोषपूर्ण रहेको निश्कर्षसहित बन्दीप्रत्यक्षीकरणको रिट लिएर अदालत जान लागेको हो । आज म्याद थपका क्रममा काठमाडौं जिल्ला अदालतमा ओली र तत्कालिन गृहमन्त्री रमेश लेखकका तर्फबाट ठूलो सङ्ख्यामा वकिलहरूले बहस गर्ने बुझिएको छ ।
एमाले अध्यक्ष ओली पक्राउको विरोधमा पार्टीले कानुनी तथा राजनीतिक रुपमा प्रतिवाद गर्ने भएको छ । ओली पक्राउको विरोधमा सडक संघर्ष गर्ने निर्णयसँगै एमाले कार्यकर्ताहरु प्रदर्शनमा उत्रिएका छन् । प्रत्येक जिल्ला सदरमुकाममा हिजो जनसंगठनहरूको तर्फबाट विरोध प्रदर्शन गरेको एमालेले आज दिउँसो जिल्ला पार्टी कमिटीको आयोजनामा प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारी कार्यालयमा विरोधपत्र बुझाउने तयारी रहेको छ ।
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको घटनाको सत्यतथ्य बुझ्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वले दिएको प्रतिवेदन कार्यान्वयन गर्ने क्रममा प्रहरीले शनिबार बिहान ओली र लेखकलाई भक्तपुरबाट पक्राउ गरेको थियो ।
कार्की आयोगले लापरबाही र हेलचेक्र्याइँका कारण जेनजी आन्दोलनका क्रममा मानिसहरूको मृत्यु भएको भन्दै त्यसमा तत्कालीन प्रधानमन्त्री ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक र नेपाल प्रहरीका तत्कालीन महानिरीक्षक चन्द्रकुबेर खापुङविरुद्ध अनुसन्धान गरी अभियोजन गर्न सिफारिस गरेको थियो ।




प्रतिक्रिया