काठमाडौं, चैत १५ । नेपाल प्रहरीले सुरक्षा संयन्त्रलाई चुस्त राख्न आजदेखि बिहान ८ बजेदेखि ‘स्ट्याण्डबाई ड्युटी’ लागू गरेको छ। नेकपा (एमाले) संघर्षका कार्यक्रम गर्ने तयारी गरेसँगै प्रहरीले सम्भावित प्रदर्शनलाई दृष्टिगत गर्दै देशभरका प्रहरी युनिटलाई शर्कुलर जारी गरेको हो । शनिबार नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि एमालेले विरोध प्रदर्शनलाई मध्यनजर गर्दै देशभरको सुरक्षामा उच्च सतर्कता अपनाइएको प्रहरीले जनाएको छ ।
आज एमालेले देशभरका जिल्ला प्रशासन कार्यालयहरूमा ज्ञापनपत्र बुझाउने तयारी गरेको। त्यस्तै, भदौ २३ र २४ गतेको घटनामा छानबिनका लागि पक्राउ गरिएका केपी शर्मा ओली र रमेश लेखकलाई प्रहरीले अदालतमा पेस गर्ने भएको छ । यस सन्दर्भमा सम्भावित भीड, निषेधित क्षेत्रको सुरक्षा, सरकारी भवन तथा संवेदनशील व्यक्तिहरूको सुरक्षालाई ध्यानमा राख्दै केन्द्रीय स्तरबाट देशभरका प्रहरी युनिटहरूलाई विशेष सतर्कता अपनाउन निर्देशन दिइएको छ।
परिस्थितिको गाम्भीर्यलाई ध्यानमा राख्दै प्रहरी कर्मचारीलाई अत्यावश्यक बाहेक बिदा नदिन र चुस्ता लगाएर तम्तायार अवस्थामा बस्न देशभरका युनिटलाई निर्देशन जारी भएको छ । आज काठमाडौं उपत्यकाका संवेदनशिल क्षेत्र, निषेधित क्षेत्र र महत्त्वपूर्ण स्थानहरूमा बिहान ८ बजेदेखि नै अतिरिक्त प्रहरी परिचालन गरिएको छ । एमालेले विरोध सशक्त बनाए देशभर सशस्त्र प्रहरीको समेत तैनाथी र गस्ती बढाउने सरकारको तयारी रहेको छ ।




प्रतिक्रिया