काठमाडौं, चैत १५ । नेकपा (एमाले) का नेता सुरेन्द्र पाण्डेले पार्टीलाई जीवन सुम्पेका ती हजारौँ कार्यकर्तालाई सडकमा ओरालेर मुलुकलाई मुठभेडतर्फ धकेल्नु कसैको हितमा नरहेको जनाएका छन् ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले पक्राउ गरेको विरोधमा एमालेले आजदेखि विरोध संघर्षका कार्यक्रम सार्जजनिक गरेपछि समाजिक सञ्जालमार्फत प्रतिक्रिया दिदै नेता पाण्डेले एमाले कार्यकर्ताको चिन्ता गरेका छन् ।
उनले आफ्नो र पार्टी अध्यक्ष ओलीबीचको सम्बन्ध राजनीतिक उतारचढावले भरिएको जनाउँदै जेनजी आन्दोलनका क्रममा ७७ जना नेपालीको ज्यान जानु सामान्य नरहेको समेत उल्लेख गरेका छन् । उनले पीडित परिवारको न्यायको माग जायज रहेको बताउदै लेखेका छन्, ‘मैले अघिल्लो पोस्टमा राखेको धारणालाई अझ प्रष्ट पार्न चाहन्छु। केपी जी र मेरो राजनीतिक यात्रा उतारचढावले भरिएको छ। हामी एउटै पार्टीमा रह्यौँ, अलग भयौँ र कयौँ पटक हाम्राबीच गम्भीर मतभेद भए – यो लुकाउनुपर्ने कुरा होइन। तर आज म जे भन्दैछु, त्यो राजनीतिक पक्षधरताले होइन – एउटा जिम्मेवार नागरिकको रूपमा भन्दैछु।
७७ जना नेपालीको ज्यान जानु सामान्य कुरा होइन। त्यो पीडा वास्तविक छ र पीडित परिवारको न्यायको माग जायज छ। तर न्याय स्थापित प्रक्रियाबाट हुनुपर्छ, जहाँ आरोप र प्रमाणको सही परीक्षण होस्। केही व्यक्तिमाथि मात्र सबै सजाय थुपार्ने यो हतारो न्यायका लागि हो कि राजनीतिक सन्देशका लागि? मलाई नेकपा (एमाले) का कार्यकर्ताको चिन्ता छ। पार्टीलाई जीवन सुम्पेका ती हजारौँ कार्यकर्तालाई सडकमा ओराल्नु र मुलुकलाई मुठभेडतर्फ धकेल्नु कसैको हितमा छैन। त्यसैले न्याय होस् – तर निष्पक्ष र प्रक्रियागत।‘




प्रतिक्रिया