काठमाडौं, चैत १५ । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता डा. शेखर कोइरालापक्षले नवनिर्वाचित संघीय सांसदका लागि आज बधाई तथा शुभकामना कार्यक्रम राखेको छ ।
आज अपराह्न धुम्बाराहीको स्मार्ट होटलमा पार्टीका तर्फबाट प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष तथा समानुपातिकतर्फ निर्वाचित र राष्ट्रियसभाका नवनिर्वाचित सदस्यहरूलाई बधाई दिने कार्यक्रम राखिएको हो । गत शनिबार कांग्रेसले पार्टी मुख्यालय सानेपामा नवनिर्वाचित सांसदलाई संसदीय सचेतना कार्यक्रम आयोजना गरेर अभीमुखीकरण तालिम दिएको थियो ।
पार्टी सभापति गगनकुमार थापा, उपसभापतिद्वय विश्वप्रकाश शर्मा र पुष्पा भुसाल, महामन्त्री प्रदीप पौडेल र गुरुराज घिमिरेले नवनिर्वाचित सांसदहरूलाई संसदीय अभ्यास, प्रक्रिया एवं प्राथमिकता तथा संसदीय सचेतनाबारे प्रशिक्षण दिएका थिए ।
प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसबाट प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० जना निर्वाचित भएका छन् । यस्तै राष्ट्रियसभामा कांग्रेसबाट नौ जना नवनिर्वाचित सांसदहरू छन् ।




प्रतिक्रिया