‘महावीरको मार्गदर्शनले प्रेरणा मिल्छ’


काठमाडौं, चैत १७ । राष्ट्रपति रामचन्द्र पौडेलले आपसी विश्वास, प्रेम र एकताको भावनालाई महावीर जयन्तीले प्रगाढ बनाउँदै सभ्य र सुसंस्कृत समाज निर्माणका लागि अग्रसर हुन सबैलाई प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन् । जैन धर्मका प्रवर्तक महावीरको २६२५ औँ जन्मजयन्तीका अवसरमा शुभकामना सन्देश दिँदै उनले यस्तो विश्वास व्यक्त गरेका हुन् ।

उनको सन्देशमा महावीरले गरेको अहिंसा र संयमको उत्कृष्ट साधना साथै जनकल्याणका लागि गरेको मार्गदर्शन अनुकरण गर्न सकेमा धार्मिक, सामाजिकतथा सांस्कृतिक विविधताबिच सहिष्णुता र सद्भाव कायम गर्दै राष्ट्रिय एकता सुदृढ बनाउन सकिने उल्लेख छ ।

यसै गरी उपराष्ट्रपति रामसहायप्रसाद यादवले महावीर जयन्तीको शुभकामना दिँदै महावीरले देखाएको सत्मार्ग आत्मसात् गर्दै सुखी, शान्तिपूर्ण र समृद्ध समाज निर्माणमा योगदान पु¥याउने सङ्कल्प लिन सक्नुपर्ने धारणा व्यक्त गरेका छन् ।

महावीर जयन्तीले प्रत्येक नेपालीलाई नैतिक, सहिष्णु र मानवतावादी मूल्यको मार्गदर्शन प्रदान गरोस् भन्ने उनले सन्देशमा उल्लेख गरेका छन् । हरेक वर्ष चैत्र शुक्ल त्रयोदशीका दिन नेपाललगायत विश्वभर छरिएका जैन धर्मावलम्बीद्वारा विभिन्न कार्यव्रmम आयोजना गरी महावीर जयन्ती मनाउने गरिन्छ ।