पर्सीदेखि सुरु हुने दुवै सदनको अधिवेशनमा अव के-के हुन्छ?


काठमाडौं, चैत १७ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका छन् । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा पर्सी चैत १९ गते बिहीबारका दिन दिउँसो २ बजे बजे संघीय संसद भवन, सिंहदरबारमा संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेका हुन् ।

यसअघि सोमबार अपराह्न बसेको मन्त्रिपरिषद्को बैठकले संघीय संसद् अधिवेशन आह्वानका लागि राष्ट्रपति पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को सिफारिसका आधारमा राष्ट्रपति पौडेलले अधिवेशन आह्वान गरेर मिति र समय तोकेसँगै देशको संघीय विधायिक गतिविधि औपचारिक रूपमा अघि बढ्ने भएको छ।

अव नयाँ निर्वाचनपछि गठन भएको संघीय संसद्को यस अधिवेशनमा विभिन्न महत्वपूर्ण संवैधानिक र राजनीतिक प्रक्रिया सुरु हुनेछन्। अधिवेशन सुरु भएको १५ दिनभित्र प्रतिनिधि सभाले सभामुख र उपसभामुख चयन गर्नुपर्ने संवैधानिक व्यवस्था छ। अधिवेशन अवधिमा राष्ट्रपतिद्वारा सरकारको आगामी नीति तथा कार्यक्रम प्रस्तुत गरिनेछ । जसले नयाँ सरकारको प्राथमिकता र योजना स्पष्ट पार्नेछ। नवनियुक्त प्रधानमन्त्री बालेन शाहले संसद् बैठकमा सरकारको धारणा र कार्यदिशाबारे सम्बोधन गर्नेछन् ।

त्यसैगरी, अधिवेशनमा विभिन्न विधेयकहरू दर्ता, छलफल र पारित गरिनेछन् भने दुवै सदन (राष्ट्रिय सभा र प्रतिनिधि सभा) बाट पारित भएपछि कानुनको रुप लिनेछन् । अवको संसद्मा हालैको निर्वाचन, सरकार गठन, र राजनीतिक परिवर्तनका विषयमा व्यापक बहस हुने सम्भावना छ। विशेषगरी हालको राजनीतिक परिवर्तन र जनआन्दोलनपछिको अवस्थाबारे संसद् केन्द्रित रहने देखिन्छ।