ऋषि धमलाले सम्झिए क्लब स्थापनादेखि आजसम्मका २८ वर्षका संघर्षका दिन, अब गाउँगाउँमा पुगेर भुईंमान्छेको कुरा सुन्ने घोषणा


काठमाडौं, १७ चैत्र । रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले क्लबले आगामी दिनमा भुईंमान्छेहरुका आवाजलाई मुख्य प्राथमिकता दिने घोषणा गरेका छन् । क्लबको २८औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै धमलाले आफूले स्थापनाकालदेखि आजसम्म जनताको आवाज बोलेको भन्दै अब भुईंमान्छे, गरिव, निमुखाहरुको लागि क्लबको मञ्च उपलब्ध गराउने घोषणा गरेका हुन् ।

सो क्रममा उनले क्लबको स्थापनाताका दिन पनि स्मरण गराएका छन् । उनकाअनुसार क्लबको पहिलो उद्घाटन कृष्णप्रसाद भट्टराईले गरेका हुन् । उनले भने,‘क्लबको पहिलो उद्घाटन कार्यक्रमको प्रमुख अतिथि नै किसुनजी हुनुहुन्थ्यो, उहाँ खुमलटारमा बस्नुहुन्थ्यो, उद्घाटनको दिन म उहाँलाई लिन उहाँको निवासमा पुगेको थिएँ, करिब अढाई घण्टा कुरेपछि उहाँले मलाई आफ्नै मोटरमा हालेर सम्पादक समाजको कार्यालयमा आउनुभयो, अनि क्लबको उद्घाटन गर्नुभयो ।’

क्लबको उद्घाटन गरेको दिन किसुनजीले गिरिजाप्रसाद कोइरालाले आफूलाई सहयोग नगरेपनि चुनाव लडेर जित्ने घोषणा गरेको धमलाले सुनाए । उनले भने,‘उहाँले म राजा आएपनि चुनाव लडेर जित्छु भन्नुभएको थियो । उहाँले चुनाव जित्नुभयो । पछि गिरिजा प्रसादले उहाँलाई प्रधानमन्त्रीको रूपमा अघि सार्नुभयो । पछि उहाँ क्लबमा आएर आफूले बोलेको कुरा पूरा गरेको भनेर पनि स्मरण गारनउभुउको थियो । उहाँजस्तो व्यक्तित्वबाट उद्घाटन भएको क्लब आज २८ वर्ष पूरा भएर २९ वर्षमा प्रवेश गरेको छ । मेरो लागि यो गौरवको क्षण हो । म खुशी छु ।’

धमलाले आफूले गणेशमान सिंहको निवास चाक्सीबारबाट जनआन्दोलनको रिपोर्टिङ गरेर सक्रिय पत्रकारिता सुरु गरेको पनि सुनाए । उनले क्लबले आफ्नो इतिहासमा ठूला ठूला तरंग पैदा गरेको र रेकर्ड बनाएको पनि स्मरण गराए । सार्कमा कहिल्यै सँगै नबस्ने नेपालका लागि भारतीय र पाकिस्तानी राजदूतलाई पनि एकै ठाउँमा उभ्याएको भन्दै उनले त्यो इतिहास सम्झाए । उनकाअनुसार लोकेन्द्रबहादुर चन्द र बाबुराम भट्टराईलाई एकै ठाउँमा राखेर कार्यक्रम भएको छ । यस्तै, संसद्मा महिनौंसम्म सम्बन्ध राम्रो नभएका गिरिजाप्रसाद र माधव नेपालबीच बोलचाल बन्द हुँदा हात मिलाउन लगाएर क्लबको कार्यक्रम गराएको पनि उनले स्मरण गराए ।

उनले आफूहरुले यसपटक कुनै तामझाम नगरी क्लबको वार्षिकोत्सव मनाएको बताए । उनले भने,‘हामीले यसपटक कुनै तामझामको कार्यक्रम गरेनौं । जेनजी आन्दोलनमा धेरै युवाहरुले सहादत प्राप्त गरे । त्यो आन्दोलनको म्याण्डेट नै पारदर्शीता र सुशासन हो । जेनजी आन्दोलनको ताका भदो २५ गते सुधन गुरुङलाई राखेर कार्यक्रम गरेको पनि ताजा गराउन चाहन्छु । जेनजी आन्दोलनपछिको एजेण्डा यही क्लबबाट तय भएको हो । जेनजीहलाई मैले खुलेर साथ दिएको हुँ । भ्रष्टाचार अन्त्य गर्नको लागि मेरो सधैं साथ रहन्छ ।’

धमलाले अहिलेका प्रधानमन्त्री बालेन शाहलाई सफल कार्यकालको लागि बधाई र सफलताको शुभकामना पनि दिए । उनले भने,‘यो सरकराले अब जनताको चाहनाअनुसार काम गर्नुपर्छ । भ्रष्टाचारीलाई जेल हाल्नुपर्छ । सुशासन र विकास चाहिन्छ । क्लबले ठूलो संघर्ष गरेको छ । गरिब र निमुखा जनतालाई साथ दिएको छ । कसैलाई पनि मैले निषेध गरेको छैन । भुईंमान्छेको एजेण्डा उठान गर्ने मान्छे हुँ । सहकारी, लघुवित्त र मिटरब्याजी पीडित सबैलाई साथ दिएको छु । आगामी दिनमा क्लब आवाजविहीनहरुको आवाज बन्नेछ ।’

धमलाले आफूले जीवनमा नगरेका कुनैपनि काम नभएको भन्दै सबैखाले दुःख गरेको सुनाए । उनले भने,‘मैले नगरेको काम केही पनि छैन, सबै काम गरेको छु । मैले पत्रिका बेचें । प्रजातन्त्रको लागि आन्दोलनमा पनि होमिएँ, अनि पत्रिकामा रिपोर्टरको कामदेखि हकर भएर पनि काम गरें । अहिले पनि १८ घण्टा काम गर्छु । मेरो व्यक्तिगत स्वार्थ नै छैन । ०४६ सालको जनआन्दोलनमा रिपोर्टिङ गर्नेदेखि त्यसलाई रत्नपार्कमा लगेर लौ आयो आयो प्रजातन्त्र आयो भनेर पनि कराएर बेचेको छु । प्रजातन्त्रपछिको यो ३५ वर्षमा देशमा के भयो ? अहिले म त्यतातिर जान चाहन्नँ । पत्रकारिताको माध्यमबाट बलियो, तटस्थ र व्यवसासयिक पत्रकारिता गरेको छु, म अहिले प्राइम टिभी, नेपाली रेडियो नेटवर्क, रिपोर्टर्स नेपाल डटकम, दिव्यदर्शन टिभी र क्लबलगायत धेरै मिडियामा नेतृत्वको भूमिकामा छु, हाम्रो टिमले समान व्यवहार गर्छ । पत्रकारितमा कुनै पूर्वाग्रह राखेको छैन । सोसल मिडियालाई सम्मान गर्न चाहन्छु ।’

उनले प्रधानमन्त्री बालेन शाहलाई सफल बनाउनको लागि आफूले पूर्ण सहयोग गर्नेपनि घोषणा गरे । उनले भने,‘म बालेन शाहले नेतृत्व गर्नुभएको यो सरकारलाई सफल बनाउन चाहन्छु । यो सरकारको गुरुयोजना जुन छ, त्यसमा मेरो सहयोग रहन्छ । रवि लामिछानेले पत्रकारिता छोडेर राजनीतिमा आउने घोषणा पन यही क्लबको फोरमबाट गर्नुभएको हो । क्लबको मञ्चबाट राजनीति घोषणा गर्नुभएको छ । उहाँलाई धन्यवाद ज्ञापन गर्दछु । सुधन गुरुङजीले पनि यही मञ्चमा जेनजी आन्दोलनमा बोल्नुभयो, अहिले उहाँ गृहमन्त्री हुनुहुन्छ, उहाँलाई पनि म सफल गृहमन्त्री बनाउन सहयोग गर्छु । यो देशको भ्रष्टाचारीलाई थुन्नको लागि पनि सहयोग गर्दछु ।’

धमलाले नेपाली पत्रकारितालाई समग्र विकास र समृद्धितर्फ अघि बढाउने प्रण गरे । जेनजी आन्दोलनपछि क्लबले आफ्नै हलभित्र वार्षिकोत्सव समारोह मनाएको उनको भनाई छ । उनले भने,‘क्लबले आफ्नै हलभित्र कार्यक्रम गरेको छ । परिवर्तन आफैंबाट सुरु गर्नुपर्छ । तामझाम नगर्ने भनेर, जेनजीको भावनाअनुसार काम गरेको छ, क्लब अब देश बनाउने अभियानमा लाग्नेछ । गाउँगाउँमा जाने । अन्तरक्रियाको शैली पनि परिवर्तन गर्ने । देश बदल्नको लागि बुद्धिजिवीहरुको विचार लिने । तर, आवाजविहीनहरुको लागि आवाज दिनेछ । म अहिले सक्रिय पत्रकारितामा छैन, तर साथमै छु । यो एजेण्डामा साथमै रहन्छु ।’

कार्यक्रममा वरिष्ठ अधिवक्ता प्रा.डा. गान्धी पण्डित र राजनीतिक विश्लेषक प्रा.डा. सुरेन्द्र केसीले पनि क्लबलाई २८औं वार्षिकोत्सवको अवसरमा शुभकामना दिएका थिए । उनीहरुले समसामयिक विषयमा आफ्नो धारणा पनि राखेका थिए ।