रिपोर्टर्स क्लब नेपाल लोकतन्त्रको आधारस्तम्भ बनेको छ, ऋषि धमलालाई साधुवाद भन्न चाहन्छु : अधिवक्ता दिनेश त्रिपाठी


काठमाडौं, १७ चैत्र । वरिष्ठ अधिवक्ता डा. दिनेश त्रिपाठीले रिपोर्टर्स क्लब नेपाल लोकतन्त्रको आभारस्तम्भको रुपमा चिनिएको बताए । उनले भने,‘क्लब र यसको नेतृत्वकर्ता ऋषि धमलाले नेपाली प्रेस जगतमा र लोकतन्त्रको लागि अविस्मरणीय योगदान दिनुभएको छ । रिपोर्टरहरुलाई कनेक्ट गर्नुभयो । लोकतन्त्रको आधारस्तम्भको रुपमा क्लबलाई मानेको छु । २९ वर्षमा क्लबले पत्रकारितमार्फत समाजका सबै क्षेत्र र सबैको आवाजलाई मुखरित गर्ने काम गरेको छ ।’

रिपोर्टर्स क्लब नेपालको २८औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले क्लबले लोकतन्त्रको लागि नै अतुलनीय योगदान पुर्याएको बताए । उनले भने,‘लोकतन्त्रको लागि मिडिया चाहिन्छ । लोकतन्त्रको बास्तवमा लाईफ ब्लड भनेको मिडिया नै हो । मिडियाको शक्ति ठूलो छ । भियतनामबाट अमेरिकी सेना फर्किनुपरयो, मिडियाकै कारण । लोकतन्त्रको सवलीकरणको लागि क्लबले धेरै महत्वपूर्ण भूमिका खेलेको छ। आवाजविहीनहरुको आवाज बनेको छ । क्लब सशक्त फोरमको रुपमा उभिएको छ ।’

उनले क्लबले राज्यको नेतृत्वकर्तादेखि भुईंमान्छे र सबैलाई उत्तिकै स्थान दिएर समावेशिताको पनि राम्रो ख्याल गरेको बताए । उनले थपे,‘क्लब सबैको लागि सधैं खुला रहन्छ । यो जीवन्त फोरम हो । ऋषि धमलालाई साधुवाद भन्न चाहन्छु । धन्यवाद भन्न चाहन्छु।’

उनले मिडियाबिनाको लोकतन्त्र हुन नसक्ने भन्दै अहिले नेपालको लागि लोकतन्त्रको लागि सबभन्दा धेरै ठूलो खतरा बनेर स्टन्टको राजनीति सुरू भएको टिप्पणी गरे । उनले भने,‘अहिले निरंकुशताले टाउको उठाउँदैछ, सर्वसत्तासवादको नाममा टाउको उठाउँदैछ । नागरिकको आवाज र असहमतको आवाज दबाउने काम भएको छ । मिडिया अझै सशक्त हुन जरुरी छ । लोकतन्त्रमा आएको खतरालाई चूनौति दिनुपर्छ । जनताबाट निर्वाचित तथाकथितबाट पनि लोकतन्त्रमाथि खतरा छ । दुई तिहाईको दम्भ हुनसक्छ । पपुलिजमको नाममा संख्याले शासन, लोकतन्त्र भनेको संख्यातन्त्र मात्रै होईन, विचारलाई सम्मान गर्ने कुरा पनि हो ।’