काठमाडौं, १७ चैत्र । वरिष्ठ सञ्चारकर्मी प्रकाश सुवेदीले क्लबलाई वार्षिकोत्सवको अवसरमा बधाई दिनुको साथै यसका सभापति ऋषि धमलालाई सक्रिय पत्रकारितमा फर्कनको लागि सुझाव दिएका छन् । उनले भने,‘क्लबलाई धेरै–धेरै बधाई छ । यसले आफ्नो २८ वर्षको यात्रा पूरा गरेको छ । म पनि ऋषिजीकै सहयात्री हुँ । हकरको रुपमा बाटोमा कराउँदै पत्रिका बेचेको म आफैं पनि श्रोता हुँ । जसमा काम गर्ने लगनशीलता हुन्छ, उसले कहिल्यैपनि सुख र दुःखको परवाह गर्दैन ।’
क्लबको २८औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले ऋषि धमलासँग निकट सम्बन्ध भएपनि क्लबको सदस्य बन्नुपर्छ भनेर आफूलाई कहिल्यै नभनिएको पनि स्मरण गराए । उनले भने,‘क्लबले यो देशको लागि पुर्याएको योगदान कसैसँग लुकेको छैन । अबका दिनमा भुईंमान्छे ल्याउने अठोट गर्नुभयो, बास्तवमा तपाईं आफैं चुनाव लड्न जाँदा जुन उखु बोक्नुभयो, चटपटे बेच्नेहरुसँग जानुभयो । उहाँहरुलाई बोलाएर कार्यक्रमको सुरुवात गर्नुहोस । मैले धेरै पहिले जब नेपालमा चरम लोडसेडिङ हुँदापनि ऋषिजीको बारेमा भनेको थिएँ कि ऋषि धमला यस्तो पात्र हो, लोडसेडिङ नहुने व्यक्ति हो ।’
ऋषि धमलाको सक्रियता देखेर आफूलाई अहिले पनि काम गर्ने उर्जा जागेको बताए । उनले भने,‘म आज उहाँलाई भन्न चाहन्छु कि तपाईंले पत्रकारिताको यो यात्रालाई पूर्ण रुपमा लगाउनुहुन्न । चुनावमा हारजित हुन्छ । पत्रकारितामा पूर्णविराम लगाउनुहुन्न । धमलाको हमला, सडकबाट हमला गर्नुहोस । जनता पर्खेर बसेका छन् । चाँडै हेर्न र सुन्न पाईयोस ।’
उनले रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वमा सरकार गठन भएको भन्दै अब सरकारको काम हेरेर मात्रै बोल्ने बताए । उनले भने,‘अहिले सरकार बनेको छ, अब सरकारको काम हेर्न बाँकी छ । एक सय दिन हेरौं । हामी त प्रतिपक्ष हौं । हामीले कुनै नियुक्तीको लागि सपोर्ट गरेको होईन, सुशासनको लागि समर्थन गरेको हो । नियुक्तीको पर्खाईमा छैनौं ।’ उनले धमलालाई सक्रिय पत्रकारको रूमा देख्न चाहेको भन्दै चाँडै कार्यक्रममा देख्न पाईयोस भन्ने कामना गरे ।
क्लबले पत्रकार सुवेदीलाई एक लाख एक हजार रुपैयाँ नगद राशिको ‘प्रेमा शाह साहित्यिक पुरस्कार’ ले सम्मान गरेको छ । सो सम्मानबारे बोल्दै उनले भने,‘प्रेमा शाहप्रति श्रद्धासुमन रह्यो । म प्रत्येक दिन उहाँलाई भेट्थें । उहाँ सातदोबाटोमा बस्नुहुन्थ्यो, आज उहाँको नाममा स्थापित यो पुरस्कार पाउने पहिलो व्यक्ति पनि म भएँ, निकै खुशी छु । उहाँकी छोरी जल शाह र नातिनी कलशप्रति पनि उच्च सम्मान छ । सम्झना छ ।’




प्रतिक्रिया