देउवा समूहको जिल्ला सभापति भेलालाई काउन्टर दिन कांग्रेस अुनशासन समितिको बैठक बस्दै


काठमाडौं, चैत १८ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र शेखर कोइराला समूहले समानान्तर गतिविधि गर्न थालेपछि कांग्रेसले बोलाएको अनुशासन समितिको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको हो ।

गत शनिबार कांग्रेस नेता एवम् पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि पूर्णबहादुर खड्काले कार्यवाहक सभापतिको रुपमा विज्ञप्ति जारी गरेका थिए । कांग्रेसले त्यसलाई गम्भीर रुपमा लिएको जनाएको थियो ।

विशेष महाधिवेशनबाट कांग्रेस सभापति गगन थापा चुनिएको र त्यसलाई निर्वाचन आयोगले समेत मान्यता दिइसकेको अवस्थामा देउवा समूहका खड्काले कार्यवाहक सभापतिको रुपमा विज्ञप्ति जारी गरेपछि उनको क्रियाशील सदस्यता नवीकरण नगर्ने विषयमा समेत छलफल भएको थियो ।

मंगलबार खड्काले १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति बैठक बोलाएर शेखर कोइराला र शशांक कोइरालालाई दायाँवायाँ राखेर कार्यक्रम गरेपछि गगन थापा नेतृत्वको केन्द्रीय अनुशासन समितिको बैठक बस्न लागेको हा े। खड्काले भोली जिल्ला सभापतिको भेला समेत बोलाएका छन् । यसै विषयमा छलफल गर्न कांग्रेसले अुनशासन समितिको बैठक बोलाएको हो ।