अवैध लागूऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ


काठमाडौँ, १८ चैत ।झापाको भद्रपुर नगरपालिका-५ नरसिङ बगानबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ३ सय ६० मिलिग्राम सहित सोही नगरपालिका-९ कारागार बस्ने २८ वर्षीय रेसल खड्का सहित ३ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको मे.४ प ८२७४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी झापा, कनकाई नगरपालिका-६ क्याम्पाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम २ सय ७० मिलिग्राम सहित दमक नगरपालिका-८ बस्ने ३१ वर्षीय छितिज तामाङलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी बिट दुर्गापुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी झापा, भद्रपुर नगरपालिका-५ नरसिङ बगानबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम २ सय ७० मिलिग्राम सहित मेचीनगर नगरपालिका-१२ बस्ने ३९ वर्षीय संतोष लिम्बु समेत ३ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्र.१-०१-०१२ प ४७१५ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

धनुषा, मिथिला नगरपालिका-१० रातुपुलबाट नियन्त्रित लागूऔषध टापेन्टाडोल ४० ट्याब्लेट सहित ३ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिन्धुली दुधौली नगरपालिका-५ सिर्थौली बस्ने २० वर्षीय साजन परियार, २१ वर्षीय दोर्जे लामा र २० वर्षीय दिपेश साह रहेका छन् । इलाका प्रहरी कार्यालय ढल्केवर र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महोत्तरीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा उक्त लागूऔषध मिथिला नगरपालिका-६ स्थित अनु फार्मेसीबाट खरिद गरी ल्याएको भन्ने खुल्न आएपश्चात फार्मेसी तलासी गर्दा नियन्त्रित लागूऔषध टापेन्टाडोल ७ हजार ६ सय ट्याब्लेट र नगद १ लाख ३५ हजार रूपयाँ फेला पारी फार्मेसी संचालक मिथिला नगरपालिका-७ बस्ने ५० वर्षीय रामकुमार महत्तोलाई समेत प्रहरीले पक्राउ गरेको छ ।

यसैगरी धनुषा, धनुषाधाम नगरपालिका-९ धारापनीबाट नियन्त्रित लागूऔषध टापेन्टाडोल २ हजार ८ सय ४० ट्याब्लेट सहित उदयपुर कटारी नगरपालिका-३ बस्ने २१ वर्षीय सुमन अधिकारी मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय ढल्केबर समेतबाट खटिएको प्रहरीले स.१ ह १०४३ नम्बरको अटो तलासी गर्दा उक्त लागूऔषध फेला पारी अटोमा सवार उनलाई पक्राउ गरेको हो । प्रहरीले हाल फरार अटो चालकको खोजी गरिरहेको छ ।

बाँके, जानकी गाउँपालिका-५ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ९० मिलिग्राम र नगद ३ हजार ५ सय ९० रूपैयाँ सहित सोही गाउँपालिका-७ बकसपुर बस्ने २७ वर्षीय प्रेमलाल चमारलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय खजुरा खुद्राबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी बाँके, नेपालगंज उपमहानगरपालिका-१६ बाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ५० ट्याब्लेट, ट्रामाडोल ३ सय ट्याब्लेट सहित जुम्ला चन्दननाथ नगरपालिका-२ बस्ने २७ वर्षीय पंकज भण्डारी समेत ३ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

कैलाली, टिकापुर नगरपालिका-९ बालुवाटारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम १ सय २० मिलिग्राम सहित सोही नगरपालिका-१ बस्ने २० वर्षीय मुकेश बोहरा समेत २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी कैलाली, लम्कीचुहा नगरपालिका-१ भुरूवाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय २० मिलिग्राम सहित सोही ठाउँ बस्ने १९ वर्षीय राजेश सोप बराललाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

सुनसरी, कोशी गाउँपालिका-८ भान्टाबारी बजारबाट नियन्त्रित लागूऔषध नाइट्राभेट ३० ट्याब्लेट सहित उदयपुर चौदण्डीगढी नगरपालिका-४ बस्ने ३० वर्षीय पर्वत राईलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भण्टाबारीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।