काठमाडौं, २० चैत । नेकपा (एमाले) का नेता ठाकुर गैरेले सरकारले संविधान, कानून र विधिको उल्ल ङ्घन गरेर पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिएको बताएका छन् । रिपोर्टर्स क्लब नेपालमा आज (शुक्रबार) आयोजित साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारले सुरुमै संविधान, कानून र विधिको उल्लङ्घन गरेको बताएका हुन् । नेता गैरेले सरकार गलत बाटोमा अगाडि बढ्न उद्धत रहेको पनि टिप्पणी गरे ।
‘नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री र नेपाली कांग्रेसका नेता पूर्व गृहमन्त्रीलाई गरिएको गिरफ्तारी र त्यो गिरफ्तार गर्ने प्रक्रियामा अबलम्बन गरिएको विधि, कानूनको सहारा लिइयो, त्यो चाहिँ कानून र विधिको खिलाफमा छ । सुरुमै सरकारले गरेको कानून र संविधानको उल्लङ्घनले मुलुक गलत बाटोमा अगाडि बढ्न उद्धत छ भन्ने कुरा देखापरेको छ,’ नेता गैरेले भने ।
पूर्व प्रधानमन्त्री ओली र पूर्व गृहमन्त्री लेखकलाई पक्राउ गरिएको कदम लोकतान्त्रिक, संवैधानिक र विधिसंगत नरहेको उनले बताए । सरकार पछाडि हट्नुपर्ने र ओली लेखकको निशर्त रिहाइ हुनुपर्ने उनको माग छ ।
एमाले नेता गैरेले सरकारले शान्तिपूर्ण आन्दोलनमा उत्रिएका नागरिकमाथि निर्मम दमन गरेको बताए । त्यस्तै , सरकारले गरेको गलत कामको विरोध गर्दा अमिशा पराजुलीमाथि सरकारका समर्थकहरुले सामुहिक बलात्कारको धम्की दिएको भन्दै आपत्ति जनाए । नेता गैरेले सरकारलाई समयमै सच्चिन आग्रह गरे ।




प्रतिक्रिया