बादलले माओवादी शैली नछाडेको एमालेको निष्कर्ष


काठमाडौं, २० चैत । नेकपा (एमाले) का सचिवालय बैठकमा पार्टी उपाध्यक्ष एवं संसदीय दलका नेता राम बहादुर थापा ‘बादल’ को चर्को आलोचना भएको छ । आज (शुक्रबार) बसेको पार्टी सचिवालय बैठकमा संसदीय दलका नेता बादलले हिजो (बिहीबार) संसद् बैठकका क्रममा दिएको अभिव्यक्तिका बारेमा करिब ६ घण्टा लामो समीक्षा भएको थियो ।

बैठकको क्रममा नेताहरुले बादल एमालेमा आए पनि उनको बुझाइ तत्कालीन माओवादीकै रहेको टिप्पणी गरेका थिए । सचिवालय बैठकले बादलले संसद्मा व्यक्त गरेको धारणालाई समेत करेक्सन गरेको छ ।

बादलको अभिव्यक्तिलाई करेक्सन गर्दै बैठकले एमालेको नेपाली सेना प्रहरी, कर्मचारी, अन्तर्राष्ट्रिय निकायलगायतसँग मित्रवत सम्बन्ध रहेको पनि प्रष्ट पारेको छ ।

बादलले संसद् बैठकमा जनताले दिएको मतलाई अपमान गर्ने गरी षड्यन्त्रको कोणबाट बोलेको एमालेको निष्कर्ष छ ।

बादलले संसद्मा सम्बोधन गर्ने क्रममा नेपालमा भाद्र २३ र २४ गते अवैधानिक ढंगबाट रास्वपाको अघोषित नेतृत्वमा रंगक्रान्ति सफलतापूर्वक सम्पन्न भएको बताएका थिए । उनले चुनावमा रास्वपाको ऐतिहासिक विजय भएको भन्दै रास्वपा र प्रधानमन्त्री बालेन्द्र शाहलाई एमालेका तर्फबाट बधाई समेत दिएका थिए ।