फेवाताल किनारमा चल्यो डोजर, कर्ण शाक्यको वाटर फ्रन्ट रिसोर्टको स्विमिङ पुल, गेट र पर्खाल भत्याइयो


काठमाडौं, चैत २१ । पोखराको फेवाताल किनारमा मापदण्ड विपरीत बनेका अस्थायी संरचना हटाउन डोजर परिचालन गरिएको छ । गृह मन्त्रालयको निर्देशन अनुसार आज बिहानै डोजर लगाइएर ती संरचनाहरू भत्काउन सुरु गरिएको हो । तालको ६५ मिटर भित्र पर्ने अस्थायी संरचनामा प्रहरी परिचालन गरेर डोजर चलेको हो ।

सरंचना हटाउन जिल्ला प्रहरी कार्यालय, बैदाम प्रहरी, नगर प्रहरी र सशस्त्र गरी झण्डै डेढ सय प्रहरीलाई फिल्डमा खटाइएको छ। डोजरले चर्चित पर्यटन व्यवसायी कर्ण शाक्यको होटल वाटर फ्रन्ट रिसोर्टको स्विमिङ पुल, गेट र पर्खालहरू पनि भत्काएको छ ।

मन्त्रिपरिषद् बैठकले पनि शासकीय सुधारका लागि तय गरिएका एक सय कार्यसूची अन्तर्गत फेवातालको अतिक्रमण हटाउने कार्यलाई प्राथमिकतामा राख्दै तीन महिनाभित्र प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो ।

चैत १५ मा प्रधानमन्त्री बालेन्द्र शाह बालेनले पोखरा महानगरका मेयर धनराज आचार्यलाई फोन गरेर फेवाताल अतिक्रिमित संरचना हटाउन भएको प्रगति विवरणबारे सोधखोज गरेपछि बुधबार पोखरा महानगरले हालसम्म भएको प्रगति विवरण प्रधानमन्त्री कार्यालयलाई बुझाएको थियो ।

प्रधानमन्त्रीले सर्वोच्चको आदेशअनुसार अतिक्रमित संरचना हटाउन मेयरलाई निर्देशन दिएपछि गृह मन्त्रालयको संयोजनमा आजदेखि फेवाताल अतिक्रमित संरचनामा डोजर लगाउन सुरु गरिएको हो।