काठमाडौँ, २१ चैत । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा रूपन्देही बुटवल उपमहानगरपालिका-२ बस्ने सल्यान कालीमाटी गाउँपालिका-७ घर भएका ५२ वर्षीय कर्ण बहादुर राउत, काठमाडौं नागार्जुन नगरपालिका-९ बस्ने तनहुँ भानु नगरपालिका-१२ घर भएका ४२ वर्षीय आनन्द थापा, नवलपरासी पूर्व कावासोती नगरपालिका-३ घर भएकी ३९ वर्षीया राधिका पाठक पौडेल र काठमाडौं महानगरपालिका-३१ बस्ने मोरङ सुन्दहरैँचा नगरपालिका-३ घर भएका ४७ वर्षीय तिलक परियार रहेका छन् ।
पक्राउ मध्ये कर्ण बहादुरले फिनल्याण्ड पठाइदिन्छु भन्दै ११ जना पीडितहरूबाट ५७ लाख रूपैयाँ, आनन्दले माल्टा पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख ५० हजार रूपैयाँ, राधिकाले फिनल्याण्ड पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ४ लाख २० हजार रूपैयाँ र तिलकले सर्बिया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ८ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले कर्ण बहादुरलाई काठमाडौं महानगरपालिका-११ बाट, आनन्दलाई काठमाडौं महानगरपालिका-२६ बाट, राधिकालाई काठमाडौं महानगरपालिका-१२ बाट र तिलकलाई काठमाडौं महानगरपालिका-२९ बाट पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।




प्रतिक्रिया