बादललाई संसदीय दलको नेताबाट हटाउनेसम्मको तयारीमा एमाले


काठमाडौं, चैत २१ । नेकपा (एमाले) संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ ले प्रतिनिधिसभाको बैठकमा दिएको अभिव्यक्तिलाई लिएर सिंगो पार्टीमा हलचल ल्याएको छ । हिजो (शुक्रबार) बसेको एमाले सचिवालय बैठकमा ६ घण्टासम्म बादलको उक्त अभिव्यक्तिबारे समीक्षा भएको स्रोतले बतायो ।

सचिवालय बैठकमा नेताहरुले बादलको शैली माओवादीकै रहेको र उनले एमालेलाई बुझ्नै बाँकी रहेको टिप्पणी गरेका थिए । केही नेताहरुले संसदीय दलको नेता फेर्नुपर्ने प्रस्तावसमेत अगाडि सारेको स्रोतको दाबी छ ।

‘पार्टी सचिवालय बैठकमा बादलको अभिव्यक्तिलाई लिएर चर्को आलोचना भयो । करिब ६ घण्टासम्म उक्त अभिव्यक्तिबारेमा नेताहरुले आपत्ति जनाउँदै धारणा राखेका थिए । बादलले भने आफू संसद्मा सम्बोधन गर्ने क्रममा केही भावुक भएको र त्यसलाई त्यही रुपमा लिन आग्रह गर्नुभएको थियो । तर, नेताहरु बादलसँग कन्भिन्स हुन सक्नुभएको छैन । बादललाई संसदीय दलको नेताबाट हटाउनेसम्मको तयारी सुरु भएको छ,’ स्रोतले भन्यो ।