खाना पकाउने ग्यासको अभाव तत्काल अन्त्य गर्न सरकारसँग सांसद राईकाे माग


काठमाडौं, चैत २२ । नेपाल कम्युनिस्ट पार्टी(नेकपा)की राष्ट्रिय सभा सदस्य जयन्तिदेवी राईले खाना पकाउने ग्यासको चरम अभाव तत्काल अन्त्य गर्न सरकारसँग माग गरेकी छन्।

आइतबार राष्ट्रिय सभा बैठकमा बोल्दै उनले पैसा तिरेर पनि वस्तु किन्न नपाउने अवस्था लोकतान्त्रिक मुलुकका लागि सुहाउने विषय नभएको बताइन्।

सांसद राईले अहिलेको अवस्थामा उपभोक्ताहरू १५ दिनसम्म लाइनमा बस्दा समेत ग्याँस पाउन नसक्ने स्थितिमा पुगेको तर्फ सरकारको गम्भीर ध्यानाकर्षण गराइन्।

सरकारले विकल्पका रूपमा विद्युतीय चुल्हो प्रयोग गर्न आग्रह गरे पनि ठुलो परिवार, वृद्धवृद्धा र बालबालिका भएका घरमा विद्युतीय चुल्होले मात्रै समस्या समाधान नगर्ने उनको तर्क छ।

विश्वका अन्य मुलुकमा समस्या रहेको बहाना बनाएर सरकार उम्किन नपाउने भन्दै उनले ग्याँस आपूर्ति सहज बनाउन दबाब दिएकी छन्।