मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक (सूचीसहित)


काठमाडौं । सरकारले आइतबार बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ ।

मन्त्रिपरिषद् बैठक आइतबार दिउँसो १ बजेबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको थियो । उक्त बैठक केहीबेर अघि मात्रै सकिएको छ ।

बैठकले विश्व बैंकबाट प्राप्त हुने सहुलियतपूर्ण ऋण स्वीकार गर्नेदेखि आइतबार र शनिबार बिदा दिने लगायतका विभिन्न निर्णयहरू गरेको छ । त्यस्तै, आगामी शैक्षिक सत्र वैशाख १५ गतेबाट सुरु गर्ने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ ।

यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय

–डिजिटल नेपाल ट्रान्सफर्मेशन प्रोजेक्टका लागि क्रमशस् एशियाली विकास बैंक तथा विश्व बैंकले प्रदान गर्ने ४० मिलियन अमेरिकी डलर र ५० मिलियन अमेरिकी डलर गरी जम्मा ९० मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने ।

–दिगो र समावेशी वित्त परियोजनाका लागि विश्व बैंकबाट प्राप्त हुने ९५ मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने ।

–नेपाल सरकारका सबै मन्त्रालय, सचिवालय, आयोग र अन्तर्गतका निकायहरूको संगठन तथा व्यवस्थापन, सर्वेक्षण गर्न पूर्वस्वीकृति दिने ।

–राष्ट्रिय समाचार समितिका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले दिनुभएको राजीनामा स्वीकृत गर्ने ।

–पेट्रोलियम आपूर्तीमा उत्पन्न असहजताका कारण ०८२ चैत २३ गतेदेखि लागू हुनेगरी सरकारी कार्यालय तथा सम्पूर्ण शैक्षिक संस्थाहरूमा शनिबार र आइतबार बिदा दिने ।

–शैक्षिक संस्थाबाहेक उल्लेखित कार्यालयहरूको कार्यालय समय ९ देखि ५ बजे कायम गर्ने ।

–डिजेल तथा पेट्रोल गाडीलाई विद्युतीय गाडीमा परिवर्तन गर्नका लागि आवश्यक कानुनी व्यवस्था मिलाउने ।

–आगामी शैक्षिक सत्र २०८३ वैशाख १५ गतेबाट सुरु गर्ने ।