काठमाडौं, २२ चैत । सरकारले अधिवक्ता डा.नारायणदत्त कँडेललाई महान्यायाधिवक्तामा नियुक्त गरेको छ । नियुक्ति पाएलगतै डा.कँडेलले आजै महान्यायाधिवक्ताको कार्यभार सम्हालिसकेका छन् ।
डा.कँडेल पत्रकारिताबाट कानून व्यवसायमा आएका थिए । उनी विगतमा वैचारिक हिसाबले नेपाली कांग्रेसनिकट मानिन्थे । पछिल्लो समय डा.कँडेल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको निजी कानूनी सल्लाहकार (वकिल) को रुपमा चिनिएका थिए ।
रास्वपा सभापति लामिछानेविरुद्ध विभिन्न अदालतमा चलिरेको संगठित अपराध, सम्पत्ति शुद्धीकरण र सहकारी ठगीको मुद्दामा डा.कँडेलले रविको पक्षमा वकालत गर्दै आएका थिए । डा.कँडेल महान्यायाधिवक्तामा नियुक्त भएसँगै रविको वकिललाई महान्यायाधिवक्ताको पगरी दिएको भन्दै आलोचना समेत हुन थालेको छ ।

जान्नेलाई छान्ने नाराबाट उदाएको रास्वपाले समेत स्वार्थ बाँझिने मान्छेलाई महान्यायाधिवक्ताको जिम्मेवारी दिएको हो । डा.कँडेललाई महान्यायाधिवक्ता बनाउने सन्दर्भमा प्रधानमन्त्री बालेन्द्र शाह भन्दा पनि रास्वपा सभापति लामिछाने हाबी भएको देखिएको छ ।
यसरी सरकारले आफ्ना र स्वार्थ बाँझिने व्यक्तिलाई नियुक्ति दिँदै जाने हो भने नयाँ र पुराना दलको शैलीमा केही भिन्नता नदेखिने कानूनका ज्ञाताहरु बताउँछन् । डा.कँडेल महान्यायाधिवक्ता नियुक्त भएसँग रविले विचाराधीन मुद्दाबाट उन्मुक्ति पाउने सम्भावना बढेर गएको पनि कानूनका ज्ञाताहरुले चिन्ता व्यक्त गरेका छन् ।




प्रतिक्रिया