काठमाडौं, २२ चैत । गृहमन्त्रीमा सुधन गुरुङ नियुक्त भएसँगै विभिन्न कसुरमा अनुसन्धानका लागि हाई प्रोफाइलहरु पक्राउ पर्दै आएका छन् । गुरुङ गृहमन्त्री नियुक्त भएसँग नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री रमेश लेखकलगायतका हाइप्रोफाइल पक्राउ परिसकेका छन् ।
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको क्रममा प्रधानमन्त्री र गृहमन्त्रीको हैसियतमा रहेका ओली र लेखकमाथि उनीहरुको भूमिकामा प्रश्न उठाउँदै गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले ज्यानसम्बन्धी कसुरमा अनुसन्धान गर्न सिफारिस गरेको थियो । ओली र लेखकलाई गत चैत १४ गते प्रहरीले पक्राउ गरेको थियो ।
त्यस्तै, सम्पत्ति सुद्धीकरण सम्बन्धि कसुरमा व्यवसायी दीपक भट्ट, शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाललगायत पक्राउ परेका थिए । यद्यपि शंकर ग्रुपका अध्यक्ष अग्रवाल भने आज रिहा भइसकेका छन् ।
गृहमन्त्री गुरुङको निशासन अब अख्तियार दुरुपयोग अनुुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईतिर रहेको स्रोतको दाबी छ । अख्तियारका प्रमुख राई जतिबेला पनि पक्राउ पर्नसक्ने विश्वस्त स्रोत बताउँछ ।
‘अख्तियारका प्रमुख आयुक्त प्रेम कुमार राईका विभिन्न काण्डहरु छन् । उनको भूमिकामाथि गृहमन्त्रीज्यूले शुक्ष्म निगरानी राख्नुभएको छ । अख्तियार प्रमुख जतिबेला पनि पक्राउ पर्न सक्ने सम्भावना बढेर गएको छ,’ विश्वस्त स्रोतले रिपोर्टर्स नेपालसँग भन्यो ।




प्रतिक्रिया