परिवर्तनको हुट्हुटीः विहान सबेरदेखि बेलुका अबेरसम्म मन्त्रालयमै व्यस्त भेटिन्छन् गृहमन्त्री गुरुङ


काठमाडौं, २३ चैत । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वका मन्त्रिपरिषद्का गृहमन्त्री सुधन गुरुङको एक्सनको यतिबेला सर्वत्र तारिफ भइरहेका छ । गत चैत १३ गते गृहमन्त्रीको पद बहादली गरेका गुरुङले भ्रष्टाचारी, ठग र अपराधीविरुद्ध निर्मम कारबाही चलाइरहेका छन् ।

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको क्रममा भएका घटनाहरुको अनुसन्धान गर्न पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षमा गठित जाँचबुझ आयोगले प्रतिवेदन पेश गरेपछि सोही प्रतिवेदन कार्यान्वयनका लागि गृहमन्त्री गुरुङले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न देखाएको साहसको पनि सर्वच चर्चा भइरहेको छ ।

अहिले ओली लेखक प्रहरीको हिरासतमा नै छन् । गृहमन्त्री गुरुङको सक्रियता र गृहसचिव राजकुमार श्रेष्ठको साथको कारण भ्रष्टाचार र आपराधिक कार्यविरुद्ध निर्मम भएर लाग्न उनलाई सहयोग पुगिरहेको छ । गृहमन्त्री गुरुङ विहान सबेरैदेखि बेलुका अबेरसम्म मन्त्रालयमा रहेर काम गर्ने गरेको गृह स्रोतले बतायो ।

‘विगतका गृहमन्त्रीहरुको भन्दा उहाँ (सुधन) को सक्रियता निकै लोभलाग्दो छ । उहाँ विहान सबेरै मन्त्रालयमा आइपुग्नुहुन्छ । बेलुका राति १० बजेसम्म मन्त्रालयमा नै बसेर काम गर्नुहुन्छ । सुशासन र परिवर्तनको पक्षमा गृहमन्त्रीज्यूले देखाएको हुटहुटीले कर्मचारी र सुरक्षा निकायमा पनि आत्मविश्वास र उत्प्रेरणा मिलेको छ । गृहसचिवज्यू पनि बेलुका अबेरसम्म मन्त्रालयमै बसेर गृहमन्त्रीज्यूलाई सघाइरहनुभएको छ,’ गृह स्रोतले रिपोर्टर्स नेपालसँग भन्यो ।