न्यायाधीशद्वय शर्मा र पोखरेलको इजलासमा ओली-लेखकको बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ जारी


काठमाडौं, २३ चैत । सर्वोच्च अदालतमा न्यायाधीशद्वय विनोद शर्मा र सुनिल कुमार पोखरेलको इजलासमा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकको तर्फबाट दायर भएको बन्दीपत्यक्षीकरण रिटको सुनुवाइ जारी रहेको छ । सो रिटमा आइतबार शर्मा र पोखरेलको इजलासमा सुनुवाइ भएकोमा हेर्दाहेर्दैमा राखिएको थियो ।

गत भदौ २३ र २४ गते जेनजी आन्दोलनको घटना छानविन गर्न गौरी बहादुर कार्कीको अध्यक्षतामा बनेको जाँचबुझ आयोगले ओली र लेखकलाई ज्यान सम्बन्धी कसुरमा अनुसन्धान गर्न सिफारिस गरेको थियो । सोही सिफारिसको आधारमा ओली र लेखकलाई गत चैत १४ गते विहान पक्राउ गरिएको थियो ।

उक्त पक्राउ गैरकानूनी रहेको दाबीसहित ओलीको तर्फबाट उनकी पत्नी राधिका शाक्य र लेखकको तर्फबाट उनकी पत्नी यशोधा थापाले बन्दीप्रत्यक्षीकरण रिट दायर गरेका थिए ।