काठमाडौं, चैत २४ । बागमती प्रदेशसभाको १७ औँ अधिवेशन आजबाट सुरु हुँदै छ । हेटौँडा उपमहानगपालिका वडा नम्बर २ स्थित हेटौँडा उपमहानगरपालिका परिसरमा रहेको मुख्यमन्त्री सभाहलमा अपराह्न ४ बजे बैठक बस्ने गरी अधिवेशन आव्हान गरिएको छ ।
हेटौँडा १० मा रहेको प्रदेशसभा सचिवालयसहितको सभाहल गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा आगजनी भएपछि नौ महिनापछि प्रदेश सभाको बैठक बस्न लागेको हो । बागमती प्रदेशसभाकी उपसभामुख अपसरा चापागाईँले प्रदेश सभाको आफ्नै हलको अभावमा मुख्यमन्त्री हलमा प्रदेश सभा बैठक सञ्चालन गर्न लागेको बताएकी छन् ।
प्रदेशसभाको बैठकको कार्यसूची तय गर्न आजै प्रदेश सभाको बैठक बस्नुअघि दिउँसो १ बजे सर्वदलीय बैठक र २ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने तय भएको छ ।
आजको बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्रहरू वाचन गर्ने, प्रदेश सभा बैठक सञ्चालनका लागि सदस्यहरूको मनोनयन र प्रदेश सभा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख नेताहरूले शुभकामना मन्त्रालय दिने कार्यक्रम रहने गरी कार्यसूची प्रस्ताव गरिनेभएको छ ।
चालु अधिवेशनमा सवारी तथा यातायात व्यवस्था ऐनको उत्तर विधायिकी परीक्षण प्रतिवेदन, प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश खानेपानी तथा सरसफाइ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश लोकसेवा आयोग र आदिवासी जनजाति आयोगका वार्षिक प्रतिवेदनहरू पेस गरिने भएको छ ।
यस्तै रिक्त सभामुख पदमा नयाँ सभामुख चयनको प्रक्रिया समेत अघि बढाइने भएको छ । सर्वदलीय बैठकबाट सभामुख चयनको कार्यसूची तय गरी निर्वाचनको सूचना जारी हुने छ । सभामुख पद रिक्त रहेको अवस्थामा प्रदेश सभाको बैठक सञ्चालन भएको १५ दिनभित्र निर्वाचन प्रक्रिया अघि बढाउनुपर्ने व्यवस्था रहेको छ ।




प्रतिक्रिया