सरकारले अपारदर्शी ढंगले विदेशी ऋण लिएको एमाले महासचिवको आरोप


काठमाडौं, चैत २४ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले वालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले लिइरहेको वैदेशिक ऋणको पारदर्शितामाथि प्रश्न उठाएका छन् । दिगो पूर्वाधार विकासका लागि ऋण लिनु नेपालको बाध्यता मात्र नभएर आवश्यकता पनि भएको उल्लेख गर्दै प्रश्न उठाएका हुन् ।

महासचिव पोखरेलले विगतमा विदेशी ऋणले देश डुबायो भन्दै आलोचना गर्नेहरू नै अहिले सत्तामा पुगेपछि ठूलो मात्रामा ऋण लिइरहेको टिप्पणी गरेका छन् ।

उनले फेसबुकमा लेखेका छन्, “हिजो विदेशी ऋणले देश डुबायो भनेर पूर्ववर्ती सरकारको आलोचना गर्नेहरू नै आज सरकारको नीति तथा कार्यक्रम र प्राथमिकता संसद्‍मा स्पष्ट रूपमा प्रस्तुत नगरी ठूलो मात्रामा ऋण लिइरहेका छन् । यस्तो अवस्थामा स्वाभाविक रूपमा प्रश्न उठ्छ । हिजो विरोध किन? आज स्वीकार किन?”

सरकारले लिने ऋणको उपयोगिता र त्यसको प्राथमिकताका विषयमा जनतालाई स्पष्ट पार्नुपर्ने पोखरेलको माग छ ।