काठमाडौं, २४ चैत । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं प्रतिनिधिसभा सदस्य युवराज दुलालले पार्टी संयोजकसमेत रहेका पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि लाग्दैआएको क्यान्टोनमेन्ट घोटला छानविन गर्न सरकारलाई सुझाव दिएका छन् । हिजो (सोमबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि थपलियासँग संवाद गर्दै उनले प्रचण्ड नेतृत्वको तत्कालीन सरकारले नै ठूलाठूला भ्रष्टाचारका काण्डहरुमा छानविन गरेर दोषीलाई कठघरामा उभ्याउने काम गरेको स्मरण गराए ।
नेता दुलालले विगतको संसद बैठकमा स्वयं प्रचण्डले नै सम्पत्ति छानबिन गर्ने प्रस्ताव अघि सारेको बताए । अहिले आएर प्रचण्डको सम्पत्तिमाथि गरिएका टिकाटिप्पणीको कुनै अर्थ नरहेको नेता दुलालको भनाइ छ । ‘प्रचण्डको सम्पत्ति नै के छ र ? प्रचण्डले नै संसद्को रोष्टमबाट अनुसन्धानको तिर मबाटै सुरु गरौं भन्नु भएको हो । प्रचण्डको चितवनमा एक कठ्ठा जग्गा छ । त्यसमा भएको एउटा घर हो । बाँकी प्रचण्डको सम्पत्ति त कसैले भएर, ल्याएर देखाएर छानविन गरे भईहाल्यो,’ उनले भने ।
पूर्व विशिष्ट पदाधिकारीहरुको सम्पत्तिमाथि धमाधम छानबिन चलिरहँदा नेकपाका नेता दुलालले भने सबैभन्दा पहिले प्रचण्डको सम्पत्ति छानबिन गर्न सरकारलाई चुनौती दिएका हुन् ।




प्रतिक्रिया