सुदूरपश्चिम प्रदेश सभाको सातौँ अधिवेशन आजदेखि


काठमाडौं, चैत २४ । सुदूरपश्चिम प्रदेश सभाको सातौँ अधिवेशन आजदेखि सुरु हुँदै छ। प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख नजिर मियाँले अधिवेशन आह्वान गरेका हुन्। गत चैत १८ गते बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले अधिवेशन बोलाउन प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो।

सोही निर्णयअनुसार मुख्यमन्त्री कमलबहादुर शाहले नेपालको संविधानको धारा १८३ को उपधारा ९१० बमोजिम चैत २४ गते मंगलबार अपराह्न ४ बजेका लागि प्रदेश सभा अधिवेशन आह्वान गर्न सिफारिस गरेका थिए।

उक्त सिफारिसलाई अनुमोदन गर्दै प्रदेश प्रमुख मियाँले अपराह्न ४ बजे प्रदेश सभा बैठक बोलाएका हुन्। यससँगै प्रदेश सभाको सातौँ अधिवेशन औपचारिक रूपमा सुरु हुनेछ। यसअघि प्रदेश सभाको छैटौँ अधिवेशन गत माघ २५ गते अन्त्य भएको थियो।

त्यसपछि लामो समयसम्म अधिवेशन नबस्दा प्रदेश सभाको गतिविधि प्रभावहीन जस्तै बनेको थियो । विशेषगरी ‘जेन–जी आन्दोलन’ पछि प्रदेश सभा निष्क्रिय जस्तै देखिएको थियो, जसले प्रदेशको नीति निर्माण र कानुन निर्माण प्रक्रियामा असर पारेको बताइन्छ।