काठमाडौं । प्रतिनिधि सभामा रिक्त रहेको उपसभामुखको निर्वाचन चैत २७ गते हुने भएको छ । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको उपसभामुखको निर्वाचन सोमबारलाई तोकेका हुुन् । आजको बैठकमा उनले उपसभामुखको निर्वाचन तोकेको जानकारी गराए ।
बुधबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ८ बमोजिम उपसभामुख पदका निर्वाचनका लागि मिति तोकेका हुन् । उनले उपसभामुख निर्वाचनको कार्यक्रमसम्बन्धी सूचना प्रकाशन गर्न प्रतिनिधिसभाका सचिव हर्कराज राईलाई निर्देशन दिएका छन् ।
उपसभामुख चयनका लागि बिहीबार मनोनयन दर्ता हुने संसद सचिवालयले जनाएको छ । प्रतिनिधिसभाको अर्को बैठक चैत्र २७ गते शुक्रबार अपरान्ह ४ बजे बोलाइएको छ ।
सभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टी का सांसद अर्याल निर्विरोध निर्वाचित भएका थिए । संविधान अनुसार सभामुख र उपसभामुख फरक–फरक लिङ्ग र फरक–फरक हुनुपर्ने व्यवस्था भएकाले कसले पाउने हो भन्ने निश्चित छैन ।
२७५ सदस्यीय प्रतिनिधिसभामा रास्वपाको मात्रै १८२ सांसद छन् । नेपाली कांग्रेस ३८, नेकपा एमाले २५, नेपाली कम्युनिस्ट पार्टी १७, श्रम संस्कृति पार्टी ७, राष्ट्रिय प्रजातन्त्र पार्टी का ५ सांसद् छन् ।
संसद्मा बहुमत रहेको रास्वपाले जसलाई समर्थन गर्छ उनै दलले उपसभामुख पाउने हुँदा साना दलहरु रास्वपाको निर्णयको पर्खाइमा छन् । विशेष गरि रास्वपामा राप्रपालाई समर्थन गर्ने कि श्रम संस्कृतिलाई भन्ने विवाद देखिएको छ । त्यसो त संसदको प्रमुख प्रतिपक्षी दल कांग्रेसले समेत उपसभामुखमा दाबी गरेको छ ।




प्रतिक्रिया