चक्कु प्रहारबाट मन्दिर परिसरमै ढलेका थिए दाजुभाइ, उपचारका क्रममा मृत्यु


काठमाडौं, चैत २६ । ललितपुरको पाटनस्थित कृष्णमन्दिर परिसरमा चक्कु प्रहारबाट गम्भीर घाइते भएका दुई जनाको मृत्यु भएको छ । चक्कु प्रहारबाट झापाका २६ वर्षीय सिर्जन नेम्बाङ र ३३ वर्षीय सुमित नेम्बाङ घाइते भएका थिए। उनीहरूलाई उपचारका लागि बीएन्डबी अस्पताल लगिएकामा उनीहरूको उपचारको क्रममा मृत्यु भएको हो । सुमित र सिर्जन सरोदर दाजुभाइ हुन् ।

घटनाको सुरुवात एक ‘रङ नम्बर’ बाट भएको खुलेको छ। बुधबार साँझ इमाडोल बस्ने नेम्बाङ दाजुभाइले फोन गर्दा झुक्किएर अपरिचित व्यक्ति सञ्जीव नेपालीको मोबाइलमा पुगेको थियो। फोनमा कुराकानीकै क्रममा दुवै पक्षबीच भनाभन र विवाद बढ्दै गएपछि सञ्जीवले उनीहरूलाई पाटन आउन चुनौती दिएका थिए।

फोनमा भएको सामान्य विवादपछि मासु पसलमा काम गर्दै आएका सञ्जीव नेपालीले उनीहरूलाई पाटन बोलाएर मासु काट्ने हतियारले आुक्रमण गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। घटनामा संलग्न दुई जनालाई प्रहरीले भाग्दै गरेको अवस्थामा पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ।