काठमाडौं, चैत २६ । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको उपसभामुख चयनका लागि आज उम्मेदवारी दर्ता हुँदैछ ।हालसम्म कुन दलले उपसभामुख पद पाउने भन्ने विषयमा टुंगो नलागेपनि उम्मेदवारी दर्ताका लागि अहिले बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्मको समय तोकिएको छ।
प्रतिनिधि सभाको पहिलो बैठक बसेको मितिले १५ दिनभित्र सभामुख र उपसभामुख निर्वाचित गरिसक्नुपर्ने कानुनी व्यवस्थाअनुसार चैत २२ गते सभामुखमा डोल प्रसाद (डीपी) अर्याल सर्वसम्मत निर्वाचित भएपनि राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुखमा आफ्नो समर्थन कसलाई दिने भन्ने निर्णय नगरेकाले उपसभामुखको समीकरण अनिश्चित बनेको छ।
संसदीय अंकगणितका आधारमा रास्वपाले जसलाई समर्थन गर्छ, सोही दलका उम्मेदवार उपसभामुखमा निर्वाचित हुने सम्भावना देखिएको छ। एउटै दलले सभामुख र उपसभामुख दुवै पद लिन नपाइने संवैधानिक प्रावधानका कारण अब रास्वपा बाहेकका कुनै एक दलले उपसभामुख पाउनेछन्। प्रतिनिधिसभामा १८१ (सभामुख बाहेक) सांसद रहेको रास्वपाको रोजाइको दलले मात्र उपसभामुख जित्ने अवस्था छ।
उपसभामुखका लागि नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र श्रम संस्कृति पार्टीले दाबी गर्दै आएका छन् । नेकपा (एमाले)ले भने सार्वजनिक रूपमा उपसभामुखमा दाबी गरेको छैन। चैत १९ गते संसदको अधिवेशन सुरु भएकाले वैशाख ४ गतेभित्र उपसभामुख समेत चयन भइसक्नुपर्नेछ।




प्रतिक्रिया