बादलले बोलेका शव्द एमालेका होईनन्, उनले फस्टम्यानको पगरी धान्न सक्दैनन् : खिमलाल


काठमाडौं, चैत २६ । नेकपा (एमाले)का केन्द्रीय सदस्य खिमलाल भट्टराईले कार्यवाहक अध्यक्ष एवम् संसदीय दलका नेता रामबहादुर थापा बादलले हिजो पोखरामा दिएको अभिव्यक्तिप्रति आक्रोश व्यक्त गर्दै उनले प्रयोग गरेको भाषा, शैली र दृष्टिकोण एमालेको नीति र परम्पराविपरीत रहेको बताएका छन् ।

भट्टराईले सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै हिजो पोखरामा जिल्ला कमिटीद्वारा आयोजित भेलालाई सम्बोधन गर्ने क्रममा बादलले प्रयोग गरेका ‘कब्जा, आक्रमण, दुश्मन’ जस्ता शब्दावली एमालेको विचार र अभ्याससँग मेल नखाने बताएका हुन् । बादलले हिजो एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलप्रति कटाक्ष गर्दै पार्टीको नीतिभन्दा बाहिर नगएको र एमालेविरुद्ध पार्टीभित्रैबाट सकाउने अभ्यास भइरहेको गम्भीर आरोप लगाएका थिए ।

बादलले पार्टीको वर्तमान अवस्था र कार्यकर्तालाई परिचालन गर्ने तरिकासमेत नबुझेको टिप्पणी गर्दै लेखेका छन्,

कावा अध्यक्ष एवं दलनेताको बोली र एमाले :
हाम्रो पार्टी नेकपा (एमाले)का कार्यवाहक अध्यक्ष एवं प्रतिनिधिसभामा दलका नेता कमरेड राम बहादुर थापा “वादल” ले हिजो चैत्र २५ गते, पोखरामा जिल्ला कमिटीद्वारा आयोजित भेलालाई संवोधन गर्ने क्रममा जेजस्ता भाषा, शैली र दृष्टिकोण पेश गर्नुभयो
त्यो पार्टी नीति र एमाले स्कुलीङका विरुद्ध छ ।
कव्जा, आक्रमण , दुश्मन आदि
शव्दावलीहरु एमालेका होईनन् ।
जनताको वहुदलीय जनवादको मार्गदर्शन विलकुल यो होईन ।
हामी कव्जा होईन, जनताको मन जितेर प्रतिष्पर्धामा श्रेष्ठ हुन्छौ, कव्जा हाम्रो नीति होईन । हामीले आक्रमण होईन शान्तिपुर्ण संघर्षबाट विजयलाई सुनिश्चित गर्छौ । हामी प्रतिष्पर्धा गर्छौ दुश्मनी गर्दैनौं । एमालेको संघर्षको नीति यो हो ।
कार्यवाहक अध्यक्षज्युलाई सिकाउन खोजेको विलकुल होईन,
उहाँको पुरानो धङधङी एमालेको नीति हुन सक्दैन मात्रै भन्न खोजेको हुँ ।
उहाँले आज नेकपा (एमाले) कुन अवस्थामा छ भन्ने आँकलन र कसरी कार्यकर्ता र शुभेच्छुकको पंक्तिलाई परिचालन गर्ने भन्ने कुराको तरीका पनि ठम्याउन सक्नु भएन ।
उहाँमा विलकुल युद्धकालीन भाषा, शैली र चिन्तन प्रवृति देखियो ।
व्यक्तिगतरुपमा उहाँलाई मैले सैध्दान्तिक चेत भएको कम बोल्ने भद्र नेताकारुपमा लिन्थे ।
उहाँको यो भाषण देखेपछि पुरानो होकि वा एआईले पो गडवड गरेछकि भन्ने लागेर अलि बुझ्न खोजें ।
तर अहिलेकै र वास्तविक रहेछ ।
वास्तवमा मलाई दुख लाग्यो ।
पार्टीको आजको खलवलिएको अवस्थामा नेतृत्व लिनु भएका मुख्य जिम्मेवारको अवस्था यो छ ।
उहाँले न पार्टीको अवस्था न दृष्टिकोण दुवै बुझेको देखिएन । फस्टम्यानको पगरी धान्न नसक्ने पक्का भयो ।
कार्यवाहक र दलको नेताको जिम्मेवारी दिनु हुने आदरणीय पार्टी अध्यक्ष कमरेड र सचिवालयका कमरेडहरुले बेलैमा सोच्नुहोस् ।
धन्यवाद ।।