सम्पत्ति छानबिन प्रक्रियामा सरकारलाई सघाउन प्रचण्ड नेतृत्वको नेकपा तयार


काठमाडौं, २८ चैत । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले सम्पत्ति छानविन प्रक्रियामा सरकारलाई सघाउन तयार रहेको बताएको छ । नेता राजेन्द्र पाण्डेका अनुसार सरकारले उच्च पदस्थ व्यक्तिहरूको सम्पत्ति छानबिन प्रक्रिया अघि बढाएको खण्डमा नेकपाले सघाउने समझदारी बनेको छ ।

प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले नेताहरुलगायत उच्च पदस्थ अधिकारीहरुको सम्पत्ति छानविन कार्यलाई अगाडि बढाउने तयारी गरिरहेको छ । यस बीचमा केही ठूला घरानाका व्यवसायीहरु पनि सम्पत्ति सुद्धीकरणको अभियोगमा पक्राउ परिसकेका छन् ।

‘हामी तयार छौँ । २०४७ सालपछि बहुदलीय व्यवस्थापछि हामी जो जो सांसद, मन्त्री भयौँ, हामी तयार छौँ। केही फरक पर्दैन,’ पार्टी कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै नेता पाण्डेले भने ।

सम्पत्ति छानबिन गर्ने कार्यमा एउटा –एउटा व्यक्तिलाई खोजेर नभई निश्चित विधि बनाएर सरकार अगाडि बढ्न आवश्यक रहेको उनले बताए । छानविनका लागि कुनै एउटा निश्चित निकाय पनि हुनुपर्ने उनले बताए । सरकारले सम्पत्ति छानविन गर्न पाउने र आफूहरु त्यस कार्यमा सघाउनका लागि पूर्ण रुपमा तयार रहेको उनले बताए ।

साथै, सम्पत्ति छानबिन गर्दा दोषी देखिएको खण्डमा आफू र आफ्नो पार्टीका नेताहरु सजाय भोग्न तयार रहेको पनि उनले बताए । उनले नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डको मात्रै नभएर आफू पनि सम्पत्ति छानविनका लागि तयार रहेको बताए । प्रचण्डले आफू प्रधानमन्त्री रहेको बेलामा नै उच्चपदस्थको सम्पत्ति छानबिन गर्ने निर्णय गरेको पनि नेता पाण्डेले बताए ।

सरकारले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनको परिवारको सम्पत्ति छानविन प्रक्रिया अगाडि बढाइसकेको छ । आज हङ्कङमा रहेका देउवा र उनकी श्रीमती डा.आरजु राणा देउवाविरुद्ध सम्पत्ति सुद्धीकरण विभागले अदालतबाट पक्राउ पुर्जी नै लिएर अनुसन्धान अगाडि बढाएको छ ।